Connect with us

गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालन

२०८३, २० कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं। ३, बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको विशेष अवसर पारेर बुधबार, २०८३ कार्तिक १८ गतेदेखि बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका अध्यक्ष दिलिप प्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखाको उद्घाटन गर्नुभएको थियो ।

नयाँ सञ्चालनमा आएको बालुवाटार शाखाबाट ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सेवा प्राप्त गर्न सक्नेछन् । यस शाखाले बालुवाटार तथा आसपासका क्षेत्रका व्यक्तिगत र संस्थागत ग्राहकलाई सहज, सुरक्षित र गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउने बैंकले विश्वास लिएको छ ।

बैंकले शाखा विस्तारलाई भौगोलिक उपस्थितिमा वृद्धि गर्ने माध्यमका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधि प्रवर्द्धन, उद्यमशीलता विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण आधारका रूपमा लिएको जनाएको छ ।

आम नागरिकको बैंकिङ सेवामा पहुँच बढाउने र वित्तीय समावेशीकरणलाई सुदृढ बनाउने उद्देश्यसहित बैंकले आफ्नो सेवा सञ्जाल विस्तारलाई निरन्तरता दिँदै आएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।