सामुदायिक वनको लगानीमा विकट गाउँमा विकास
सनिउल्ला धोबी– कपिलवस्तुको शिवराज नगरपालिका–३ अन्तर्गतका मैनार र बुलकिया गाउँका बासिन्दाले अब सहजै चन्द्रौटा बजार आउजाउ गर्न पाउने भएका छन ।
सामुदायिक वनको सहयोग तथा लगानीमा तीन किलोमिटर सडक स्तरोन्नति भएपछि मैनार र बुलाकिया गाउँहरूमा यातायात सहज भएको हो ।
विगतमा जङ्गलको साँघुरो, खाल्डाखुल्डी भएको बाटो हुँदै जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता हटेको स्थानीयवासी बताउँछन ।
चेतनशील सामुदायिक वन उपभोक्ता समूह र रहतावल सामुदायिक वन उपभोक्ता समूहको आर्थिक लगानीमा सडक स्तरोन्नति गरिएको हो ।
चेतनशील सामुदायिक वनका अध्यक्ष रामपाल चौधरीका अनुसार समूहले रु १० लाख लगानी गरेर सडक सुधार गरेको हो ।
त्यस्तै, रहतावल सामुदायिक वन उपभोक्ता समूहले पनि रु ८ लाखभन्दा बढी खर्चेर सडकको स्तरोन्नति गरेको
अध्यक्ष चौधरीले बताउनु भयो ।
सडकको अवस्था नाजुक हुँदा वर्षायाममा स्थानीयहरूलाई निकै सास्ती हुनुका साथै एम्बुलेन्सदेखि अटो, ट्याक्टर जस्ता सवारीसाधन सहजै पुग्ने भएका भएकाले सडक बनाएको रहतावल सामुदायिक वनका अध्यक्ष यज्ञ बहादुर बेल्बासेले
जानकारी दिनुभयो ।
सडक स्तरोन्नतिसँगै स्थानीय जनजीवनमा ठुलो सहजता आएको र विद्यालय जाने विद्यार्थी, बिरामी बोक्नुपर्ने बेला र दैनिक उपभोग्य सामग्री ल्याउने कार्यमा अब सहजता भएको अध्यक्ष बेल्बासेले बताउनुभयो । 
शिवराज नगरपालिकाका विकट गाउँमध्ये पर्ने मैनार र बुलकिया अहिले मात्रै नभइ, दीर्घकालीन रूपमा विकासको मूलधारमा आउन थालेका छन ।
सामुदायिक वनको लगानीमा सडक स्तर उन्नति भएपछि मैनार र बुलकियाका गाउँ नागरिकहरु खुसी भएका छन ।