Connect with us
Kapilvast Forest

बीपी राजमार्गको चार खण्डमध्ये एउटा खण्ड पुनर्निर्माण गर्ने ठेकदार छनोट, लागत अनुमानभन्दा ३० प्रतिशत कममा ठेक्का

२०८२, ३० जेष्ठ बिहीबारमा प्रकाशित

काभ्रेपलाञ्चोक –
गत वर्षको असोज दोस्रो साता रोशीखोलामा आएको बाढीका कारण क्षतिग्रस्त बीपी राजमार्गको चार खण्डमध्ये एउटा खण्ड पुनर्निर्माण गर्ने ठेकेदार कम्पनी छनौट भएको छ ।राजमार्ग पुनर्निर्माणका लागि काभ्रेतर्फको चारसयबेसीदेखि डालाबेसीसम्म साढे आठ किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि थानीरएवानरकमलजित जेभीले ठेक्का पाएको डिभिजन सडक भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सीडीई सुमन योगेशले जानकारी दिए ।

कार्यालयका प्रमुख योगेशले निर्माण व्यवसायी कम्पनी छनोट भइसकेकाले सम्झौताको चरणमा रहेको बताए । ‘चारसयबेसीदेखि डालाबेसीसम्मको सडक पुनर्निर्माणका लागि निर्माण कम्पनी छनौट भइसकेको छ । अबको एक साताभित्र उक्त निर्माण व्यवसायी कम्पनीसँग सम्झौता हुनेछ’ योगेशले भने ।

लागत अनुमानभन्दा ३० प्रतिशत कममा ठेक्का

बीपी राजमार्गको साढे आठ किलोमिटर खण्ड पुनर्निर्माणका लागि निर्माण व्यवसायीले भ्याटसहित एक अर्ब ४२ करोड रुपियाँ कबोल गरेको छ । कार्यालयले यो खण्ड पुनर्निर्माणका लागि २ अर्ब रुपैयाँको लागत अनुमान गरेको थियो । तर निर्माण कम्पनीले ३० प्रतिशत कम रकम प्रस्ताव गरेर ठेक्का पाएको हो । यो खण्ड पुनर्निर्माणका लागि ११ वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।

सीडीई योगेशले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको भकुण्डेबेसीदेखि चारसयबेसीसम्मको ११ किलोमिटर सडक पुनर्निर्माणका लागि प्राविधिक मूल्याङ्कनको काम भइरहेको जानकारी दिए । बर्खेखोलादेखि नेपालथोकसम्म ४ किलोमिटर सडक पुनर्निर्माणका लागि पनि ११ कम्पनीले भाग लिएका छन् । यो खण्ड सडक जिभिजन कार्यालय खुर्कोटले हेरिरहेको छ ।

डालाबेसीदेखि बर्खेखोलासम्म सडक जाइका र नेपाल सरकार मिलेर बनाउने

गत असोज दोस्रो साता रोशी खोलामा आएको बाढीका कारण बीपी राजमार्गको भकुण्डेबेसी–नेपालथोक खण्ड क्षतिग्रस्त भएकाले ४ वटा प्याकेजमा ठेक्का आह्वान गरिएको थियो ।काभ्रेतर्फ भकुण्डेबेसीदेखि चारसयबेसीसम्म ११।८ किलोमिटर, चारसयबेसीदेखि डालाबेसीसम्म ८।५ किलोमिटर, डालाबेसीदेखि बर्खेखोलासम्मको ५।५ किलोमिटर र सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्म ४ किलोमिटर सडक पुनर्निर्माण हुँदैछ ।

पुनर्निर्माण गर्न सबैभन्दा अप्ठ्यारो ठानिएको डालाबेसीदेखि बर्खेखोलासम्मको ५।५ किलोमिटर सडकखण्ड भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० र नेपाल सरकार मिलेर गर्नेछन् ।डालाबेसी–बर्खेखोला खण्डअन्तर्गत जाइकाले ३।२ किलोमिटर सडक पुनर्निर्माण गर्ने छ भने २।३ किलोमिटर सडक नेपाल सरकार आफैंले पुनर्निर्माण गर्नेछ । यसअघि डालाबेसीदेखि बर्खेखोलासम्मको ५।५ किलोमिटर सडक निर्माणका लागि जाइकालाई अनुरोध गरिएको थियो ।

भकुन्डेदेखि नेपालथोकसम्मको सडक दुई लेनमा बनाइने

भकुन्डेदेखि नेपालथोकसम्मको पुनर्निर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन ९दुई लेन० बनाउने गरी ठेक्का आह्वान भएको छ । बीपी राजमार्गमा हाल भएको सवारी चापले समेत दुई लेन सडकको आवश्यकता महसुस भएको सीडीई योगेशले बताए ।डिभिजन सडक भक्तपुरले निकट भविष्यमै पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने उनको भनाइ छ ।

क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकारले ८ अर्ब ५० करोड बजेट छुट्याएको छ । काभ्रेपलाञ्चोक जिल्लातर्फ तीन खण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुली खण्डका लागि १ अर्ब बजेट सुनिश्चितता आएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

वर्षायाम सुरु हुन लागेकाले वर्षाअघि क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणको काम सुरु नहुने कार्यालयले जनाएको छ । आगामी वर्षको वर्षायाम अघि पुनर्निर्माण गरिने सडक खण्डमा पर्खाल लगाउनेलगायतका कामहरु सम्पन्न गरी कालोपत्रेको काम बाँकी राख्ने लक्ष्यका साथ कामलाई तीव्रता दिने सीडीई योगेशले बताए ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख योगेशका अनुसार गत वर्षको बाढीले बीपी राजमार्ग अन्तरगतको दाप्चा खोलामा एक सय मिटर, चौकीडाँडामा दुई सय मिटर, कटुञ्जे घुमाउनेमा पाँच सय मिटर, लास्कोटबेसीमा दुईसय मिटर र चारसयबेसीमा पाँच सय मिटर सडक क्षतिग्रस्त भएको थियो ।

यसैगरी गिम्दीबेसीमा तीन सय मिटर, खार्पाचोकबेसीमा तीन सय मिटर, नार्केमा आठ सय मिटर, पिन्थलीबेसीमा चार सय मिटर, दाउन्नेमा तीन सय मिटर, मङ्गलटार बोक्सीकुनामा छ सय मिटर, चिउरीबासमा दुईसय मिटर, भ्याकुरेखोला कालढुङ्गामा एक किलोमिटर सडकमा क्षति पुगेको थियो ।

यस्तै डालाबेसीमा आठ सय मिटर, पिप्लको दुई स्थानमा गरी सात सय मिटर, माम्तीमा आठ सय मिटर, बर्खेखोला तीन सय मिटर, चालिसेमा चार सय मिटर सडक पूर्णरूपमा ध्वस्त भएको थियो । क्षतिग्रस्त स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको छ ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३र५४ देखि बीपी राजमार्ग ९धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर सडक० निर्माण कार्य सुरु गरिएको थियो । २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिकरूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । जाइकाले उक्त राजमार्ग निर्माण गर्दा २६ अर्ब येन खर्च गरेको थियो ।

वर्षायाममा यातायात अवरुद्ध हुन नदिने प्रयास

सडक डिभिजन कार्यालय भक्तपुरले अस्थायी रुपमा सञ्चालनमा ल्याइएको बीपी राजमार्गमा यस वर्षको बाढीले यातायात सन्चालनमा अवरोध नहोस् भनेर विशेष ध्यान दिइएको जनाएको छ । त्यसका लागि पहिलाको उचाइमा अस्थायी फिलिङ गरी यातायात सञ्चालन गरिएको छ । तर गत वर्षको असोजको जस्तै वर्षा र बाढी आएमा भने क्षति रोक्न नसकिने सीडीई योगेश बताउँछन् ।

‘सामान्य बाढीले क्षति नहोस् भनेर चौकीडाँडा, कटुञ्जेबेसी, मङ्गलटार, माम्तीमा ग्याबिन जालीको पर्खाल लगाइएको छ । खोलाका ठूला बोल्डर ल्याएर राखेका छौं,’ सीडीई योगेशले भने ।

साथै बाढीपहिरोका कारण हुन सक्ने अवरोध तत्काल हटाउनका लागि सडक पुनर्निर्माणका लागि ठेक्का लागेको खण्डमा निर्माण व्यवसायीका १५र१५ वटा उपकरणका साथै डिभिजन कार्यालयका डोजर, टिपर, लोडरलगायतका सात वटा उपकरणहरु तयारी अवस्थामा राखिने उनले जानकारी दिए ।

दिगो रूपमा निर्माण गर्न पालिका अध्यक्षको आग्रह

राजमार्गअन्तर्गत क्षतिग्रस्त स्थानमा अस्थायी रुपमा सडक निर्माण गरिएको भए पनि ठूलो बाढी आउदा क्षति गर्न सक्ने भएकाले मनसुन नजिकिँदै जाँदा स्थानीय भने चिन्तित छन ।

बीपी राजमार्गमा क्षति पुगेपछि स्थानीयको जीविकोपार्जनमा असर परेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए । ‘सडकको कारण यहाँका स्थानीयले उत्पादन गरेका तरकारी, दुग्ध पदार्थ बजार लान समस्या छ, पालिकालाई पनि आर्थिक रुपमा नोक्सानी भएको छ,’ अध्यक्ष लामाले भने ।उनले बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको पालिका भित्र विभिन्न खण्ड दिगो रूपमा निर्माण गर्न सरोकारवाला निकायलाई आग्रह गरे ।

मुख्यसचिव अर्यालले गरे अनुगमन

मुख्यसचिव एकनारायण अर्यालले बीपी राजमार्ग क्षेत्रमा बाढीले क्षति पुर्‍याएका स्थानमा आवश्यक पूर्वाधार निर्माणको काम वर्षा अगावै सक्न निर्देशन दिएका छन् । बुधबार क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्दै मुख्यसचिव अर्यालले सरोकारवाला निकायलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।मुख्य सचिव अर्यालसहित भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा, आयोजना प्रमुख र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी अनुगमनमा आएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu