आर्यघाटमै भ्रष्टाचार, ५२ लाख पर्ने शवदाह मेसिन एक करोड ५२ लाखमा खरिद
काठमाण्डौ-
पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद गर्दा १० करोड ३४ लाख भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले पशुपति क्षेत्र विकास कोषका बहालवाला सदस्यसचिव डा. मिलनकुमार थापासहित १४ विरुद्ध आइतबार मुद्दा दायर गरेको छ । अख्तियारले परामर्शदाता तथा ठेकेदारलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
पशुपति घाटमा शव व्यवस्थापनमा चाप परेपछि कोषले दुई शवदाह मेसिन खरिद गरेको थियो । दुई वर्षअघि मेसिन खरिदको प्रक्रिया अघि बढाइएको थियो । तर, ठेकेदारसँग मिलेमतो गरेर परामर्श सेवा र ठेक्कामा गरी कुल १० करोड ३३ लाख ९१ हजार हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
मुद्दाका प्रतिवादीहरूमा सदस्यसचिव थापासहित निमित्त सदस्यसचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, तत्कालीन निमित्त उपनिर्देशकद्वय रेवतीरमण अधिकारी र सीताराम रिसेल, इन्जिनियरत्रय पशुपति ठाकुर, डेनिस उप्रेती र रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल र कानुनी सल्लाहकार तथा मूल्यांकन समिति सदस्य लैनबहादुर थापा छन् । त्यस्तै, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका इलेक्ट्रिकल विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी पनि मुद्दाका प्रतिवादी छन् ।
उनीहरू सबैलाई जनही १० करोड ३३ लाख ९१ हजार बिगो कायम गरिएको छ । ठेकेदार कम्पनी म्याप इन्टरनेसनल प्रालि तथा त्यसका सञ्चालकहरू मनोज पुरी र यदुनन्दन भट्टराईलाई पनि प्रमुख प्रतिवादीसरह बिगो कायम भएको छ ।
परामर्शदाता एप्पल इन्जिनियरिङ प्रोफेसनल र त्यसका सञ्चालक सुरज चापागाईंविरुद्ध पनि हिनामिना भएकै रकमबराबर बिगो दाबी गरेर मुद्दा दायर भएको छ । नयाँ शवदाह मेसिनका लागि अवधारणापत्र, आर्किटेक्चरल डिजाइन, ड्रइङ, अनुमान र स्पेसिफिकेसनसहितको प्रतिवेदन दिने कार्य गराउने प्रक्रिया कोषले अघि बढाएको थियो । यस क्रममा कोषले विगतमा गरेको खरिदको पूर्वअनुभव र कागजातसमेतको प्रयोग गरेन ।
परामर्शदाताका लागि सोझै खरिदसम्बन्धी व्यवस्थाअन्तर्गत रही तीन कम्पनीबाट दररेट माग गरिएको थियो । यसमा मिलेमतो गरेर एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी प्रालिलाई छनोट गरियो । यसैलाई कार्यादेश दिएर परामर्श सेवा खरिद गरिएको थियो । जबकि यससम्बन्धी कार्यमा उक्त कम्पनी अनुभवी थिएन । कोषले मिलेमतोमा सम्बन्धित कार्यमा अनुभव नै नभएको परामर्शदाताबाट फर्जी कोटेसन तयार गरेकोसमेत अख्तियारको अनुसन्धानबाट देखिएको छ ।
अख्तियारले खोतलेका बदमासीका तह
अनुभव नभएको कम्पनी एप्पल इन्जिनियरिङसँग परामर्श सेवा खरिद । परामर्शदाताबाट फर्जी कोटेसन तयार । लागत अनुमान बढाएर अनुकूलको कम्पनीलाई मिल्ने क्राइटएरिया निर्माण । नक्कली विज्ञ राखेर गलत प्रतिवेदन तयार । परामर्शदाताबाट बिलबिजक जारी हुनुअघि नै भुक्तानी । म्याप इन्टरप्रेनर्सलाई ठेक्का दिने गरी मापदण्ड तयार गरेर आह्वान । ५२ लाख पर्ने मेसिनको लागत एक करोड ५२ लाख । जडान गर्ने स्थानसमेत यकिन र व्यवस्थापन नगरी ठेक्का प्रक्रिया । बोलपत्र स्वीकृत गरेर एक करोड ८२ लाख पेस्की भुक्तानी । न्यून गुणस्तरको मेसिन स्वीकार, जडान गरेपछि बारम्बार समस्या ।
जलहरी मुद्दामा सदस्यसचिव थापाले विशेष अदालतबाट पाएका थिए सफाइ
सर्वोच्च अदालत गयो अख्तियार, मुद्दा विचाराधीन
प्रमुख प्रतिवादी सदस्यसचिव डा. थापाविरुद्ध भ्रष्टाचारकै अर्को मुद्दा पनि अहिले सर्वोच्चमा विचाराधीन छ । पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको नयाँ जलहरी फेर्दा एक करोड १७ लाख हिनामिना भएको आरोपमा अख्तियारले उनीसहित तीनविरुद्ध १४ असोज ०८० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, विशेषले १८ वैशाख ०८१ मा सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेको थियो । विशेषको फैसलाउपर गत ९ फागुनमा अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गरेको थियो ।
साभार :नयाँपत्रिका