Connect with us
Kapilvast Forest

सदनमा घोचपेच, रामहरिलाई डिपीको जवाफ : काम गरेर खानेले चोरेर खानेलाई जवाफ दिँदै हिँड्नुपर्ने

२०८२, १६ असार सोमबारमा प्रकाशित

काठमाडौं-

सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी माओवादीको साथ पाएका कांग्रेस र एमाले सांसदहरू सदनभित्र विपक्षी रास्वपा र राप्रपाप्रति आक्रामक देखिएका छन् । सत्तारूढ दलकै प्रमुख सचेतक र सांसदहरू कहिले गन्हाउने नेतृत्वमा बसेको भन्दै रास्वपा सांसदको आलोचना गरिरहेका छन् भने कहिले निलो स्कार्फ लगाएर सांकेतिक विरोध गर्दा निष्कासन गर्नुपर्ने भनिरहेका छन् । निरन्तर अवरोध गरिरहेकाले विपक्षी सांसदलाई बोल्न रोक लगाउनुपर्नेसम्मको आवाज उठाउन थालेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपा कार्यवाहक सभापति डिपी अर्यालले आफ्नो कम्पनीलाई जोडेर उठाइएको प्रश्नको जवाफ दिँदा कांग्रेस सांसदसँग आरोप–प्रत्यारोप नै चल्यो । कांग्रेस सांसद रामहरि खतिवडाले शनिबारको प्रतिनिधिसभा बैठकमा सुमिरे टुर्स एन्ड ट्राभल्स १० वर्षदेखि जापानमा भिजिट भिसाका नाउँमा हजारौँ मान्छे पठाएर अर्बौँ पैसा कमाएको आरोप लगाउँदै छानबिन गर्न माग गरेका थिए ।

कम्पनीलाई जोडेर आफूमाथि प्रश्न उठाएपछि आइतबार आकस्मिक समयमा कार्यवाहक उपसभापति अर्यालले जवाफ दिए, ‘म गर्वका साथ भन्छु, सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो । म यही देशमा केही गरेर खाने मान्छे हो । चोरेर खाने मान्छे होइन ।’ अर्यालले जवाफ दिइरहँदा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, खतिवडासहित सांसद उठेका थिए ।

खतिवडाले नियमापत्ति गर्न खोजे । तर, सभामुखले अर्याललाई आफ्नो कुरा राखेर टुंग्याउन समय दिए । अर्यालले अगाडि भने, ‘मेरो कम्पनीबाट एकजना मान्छे भिजिट भिसामा जापान मात्र होइन, संसारको कुनै देश गएको छ, हामीले पैसा लिएका छौँ र फर्केका छैनन् भने प्रमाण पेस गर्न म चुनौती दिन्छु । होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । सभामुखज्यूबाट रुलिङको माग गर्दछु । म फेरि भन्छु निराधार आरोप संसद्को रेकर्डबाट हटिनुपर्छ । यो कट्नुपर्छ ।’

अर्यालले संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन आयोगको माग गरेर ३३ दिनदेखि भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलनमा रहेको भन्दै यस विषयलाई विषयान्तर गर्ने गरी सदनमा निराधार आरोप लगाउने कोसिस गरिएको बताए । ‘राजनीतिलाई पेसा बनाएर वर्षौँदेखि देश दोहन गरिरहनेले आफ्नो पेसा व्यवसाय गरेर खानेमाथि गम्भीर आरोप लगाउन पछि परेनन्,’ उनले भने, ‘हामीले कस्तो समाज निर्माण गरेछौँ र गर्दै छौँ, यहाँ काम गरेर खानेले चोरेर खानेलाई जवाफ दिँदै हिँड्नुपर्ने ?’

अर्यालले सांसद किनेर भएको आरोपको पनि जवाफ दिए । ‘मलाई दया लाग्छ, ०४८÷४९ तिर कोही मन्त्रीका पिए बसेर सरकारी कागजात किर्ते गरेर विदेश मान्छे पठाउने काम गरेबापत हनुमानढोकाको चिसो छिँँडीमा धेरै रात बिताएकाहरू पनि आज यही सदनमा सांसद भएर बसिरहेका छन् । अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफैँ टाप कस्लान्,’ उनले भने । अर्यालले आन्दोलन नरोकिने पनि स्पष्ट पारे । ‘मेरो समय ठिकै चलेको छ । अरूको घडीको समय बिग्रेको छ भने म के भनौँ ?’ उनले प्रश्न गरे, ‘कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी प¥यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ । हाम्रो आन्दोलन जारी छ ।’

अर्यालले बोलिसकेपछि सभामुखले सांसद रामहरि खतिवडालाई नियमापत्तिका लागि समय दिए । उनले आफूले कुनै सांसदको नाम किटान गरेर नभनेको, तर, चोरको खुट्टा काट् भन्दा खुट्टा झिकेजस्तो गरेर केही सांसद प्रस्तुत भएको टिप्पणी गरे । ‘हामीले कुनै पनि संस्थालाई छानबिन गर्नुपर्छ भन्दा किन ठुलो स्वरले संसद् थर्काइन्छ ?’ उनले प्रश्न गरे, ‘हामीले निष्पक्ष छानबिन हुनुपर्छ भनेका थियौँ, छानबिन गरौँ, दोषी छ भने कारबाही गरौँ, निर्दोष छ भने हामी उहाँलाई सफाइ दिन चाहन्छौँ ।’ खतिवडाले सरकारी कागजात किर्ते गरेर विदेश मान्छे पठाएको आरोपको पनि जवाफ दिए, ‘म अनुरोध गर्न चाहन्छु, कुनै वेला हामी अदालतबाट निर्दोष प्रमाणित भएर संसद्मा प्रतिनिधित्व गरेका छौँ । तर, आज दोषी भएर तिनै मान्छेहरू ठुलो स्वरमा यहाँ कराउँदा हाम्रो आपत्ति छ ।’ खतिवडाले पनि अर्यालले बोलेका कुरा रेकर्डबाट हटाउन माग गरे ।

माओवादी सांसद अमनलाल मोदीले अर्याल र खतिवडाले प्रयोग गरेका शब्दमा नियमापत्ति गरे । ‘दुइटै सांसदले यति अमर्यादित शब्द प्रयोग गरेका छन्, चोर भन्ने शब्द प्रयोग गरेका छन् । कुन भाषाले प्रयोग हुन्छ त्यस्तो शब्द ? यो गैरसंसदीय भाषा हो,’ उनले भने ।

साभार : नयाँपत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu