Connect with us
Kapilvast Forest

लासबाट सुन चोरीयो, शिवराजमा मच्चियो तहल्का !

२०८२, ७ श्रावण मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पतालमा असार ४ गते भएको एक दुर्घटना र त्यसपछिको सुन चोरीएको घटनाले अहिले स्थानीय स्तरमै चासो र आलोचना बटुलेको छ ।

गत असार ४ गते बिहान ७:५५ बजे, शिवराज नगरपालिका वडा नं. ६ भुगर्भ सिमेन्ट उद्योग जाने सडकमा बागमती प्रदेश ०२०३१ च ५७७६ नम्बरको बोलेरो जिपले साइकलमा जाँदै गरेकी एक महिलालाई ठक्कर दियो । ती महिला सडकमै ढलिन् ।  तत्कालै स्थानीयले घाइतेलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल पुर्‍याए । तर टाउकोमा गम्भीर चोट लागेकी र गम्भीर रक्तस्राव भएकी ती महिलाको अवस्था जटिल थियो ।

सञ्जीवनीमा उपचार सम्भव नभएपछि महिलालाई शिवराज नगरपालिकाले सञ्चालन गरेको शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा लगियो । अस्पतालका डाक्टर अमित पाण्डेले दिउसो १२ बजे मृत घोषणा गरेपछि घटनाको केही समयपछि मात्र मृतकको परिचय खुलेको थियो ।
मृतक बागलुङ बाडिगाड गाउँपालिका–५ ग्वालीचौर स्थायी घर भई हाल शिवराज ३ मदवामा बस्दै आएकी ५५ वर्षीया डम्बर कुमारी बलामी रहेको खुलेको थियो । उनी भुगर्भ सिमेन्ट उद्योगमा काम गर्दै आएकी थिइन् ।

मृतकको शव पोस्टमार्टमका लागि अस्पतालकै शवगृहमा राखियो । दिउँसो १ बजे प्रहरीको उपस्थितिमा मुचुल्का उठाइयो । मुचुल्का अनुसार, मृतकको कानमा सुनको मुन्द्रा देखिएको प्रमाणसहित फोटो पनि संलग्न छ । पोस्टमार्टमका लागि डा. अमित पाण्डे र कार्यालय सहयोगी सिराज अहमद दर्जी शवगृह प्रवेश गरेका थिए ।

तर, अपराह्न ४ बजेतिर शव परिवारको जिम्मा लगाउँदा मृतकको कान खाली थियो । सुनको मुन्द्रा हराएको देखेपछि मृतककी बहिनी हिमा कुमारी बलामीले अस्पताल प्रशासनसँग सोधपुछ गरिन् । तर, प्रशासनले कुनै स्पष्ट जवाफ नदिएको पीडित परिवार बताउँछ ।

शब बुझेर डम्बर कुमारीको अन्त्येष्टि गरियो । काजकिरिया सकेर असार २३ गते हिमा कुमारीले वडा प्रहरी कार्यालय चन्द्रौटामा सुनको मुन्द्रा फिर्ता खोजिदिन निवेदन दिइन ।

प्रहरीको अनुसन्धान क्रममा पोस्टमार्टममा संलग्न दुवै व्यक्ति  डा. पाण्डे र कार्यालय सहयोगी सिराज अहमद दर्जीले सुन आफूले नलिएको बयान दिए ।

तर, साउन १ गते, सिराज दर्जी आफैंले हिमा कुमारीलाई भेटेर सुन बराबरको पैसा दिन तयार भए ।  हिमा कुमारीले १ लाख ४३ हजारको बिल पेस गरेकी थिइन ।  तर उनीहरूबीच २ लाख रुपैयाँमा सहमति भयो ।

सिराजले साउन ८ गते मितिको चेक दिए पनि, साउन ५ गते नै क्यासमा पैसा दिएर चेक फिर्ता लिए ।

यो घटनाले फेरि नयाँ मोड लियो जब साउन ६ गतेदेखि घटनाबारे सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भयो । अस्पताल प्रशासन र नगरपालिका प्रमुख अजय थापामाथि प्रश्न उठ्न थाले ।

आलोचना चुलिएपछि मेयर थापाले स्टाटस लेख्दै “गलत कार्यमा संलग्न जो कोही भए पनि कारबाही गरिनेछ” भन्दै अस्पष्ट भाषामा प्रतिक्रिया जनाए ।
नगरप्रमुख अजय थापाले असार ४ गतेको घटनालाई साउन ६ गतेसम्म पुग्दा समेत चुइक्क बोलेका थिएन्न । समाजिक सञ्जालमा व्यापक विरोध हुन थालेपछि उनले एउटा स्टाटस पोस्ट गरे ।
थापाले “गलत आशाभनीय कार्य गर्ने जो कोही होस् शिवराज नगरपालिकाले कारबाही गर्छ भन्ने कुरालाई विश्वत गराउदछौं ।

आधारभूत अस्पताल चन्द्रौटाको केसलाई गम्भीर र आशोभनीय कार्यप्रति निर्मम भई कारबाही गर्न वडा प्रहरी कार्यालय चन्द्रौटालाई सहयोग गर्न र उक्त व्यक्तिलाई हिजोको मितिदेखि जागिरदेखि निकाली कारबाही गर्न अस्पताल समितिलाई निर्देशन दिएका छौं ।

यति लेखिरहँदा मेयर थापाले कसलाई कारबाही गरेको भनेर स्पष्ट खोलेर लेखेनन् । पोस्टमार्टमका समयमा डक्टर अमित पाण्डे र कार्यालय सहयोगी सिराज अहमद दर्जी समेत थिए । तर कसलाई कारबाही भएको भन्ने विषय अन्योल राखेका छन ।

नागरिक समाजले पोस्टमार्टममा प्रत्यक्ष संलग्न डा. अमित पाण्डे र सहयोगी सिराज दर्जीमाथि कारबाहीको माग गरिरहेका छन ।

यता वडा प्रहरी कार्यालय चन्द्रौटाले उक्त सुन हराएको विषयप्रति अनुसन्धान गरिरहेको जनाएको छ । हामीले मुचुल्का उठाउँदा कानमा सुनको मुन्द्रा थियो ।

पछि परिवारले बुझ्दाखेरि सुनको मुद्रा थिएन हामीले गहिरो अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । प्रहरीले भन्यो” हिमाकुमारी बलामीले निवेदन दिनुभएको छ हामी अनुसन्धान गरिरहेका छौं ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu