Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराज-१ उमरीमा बस र अटो ठोक्किँदा २ जनाको मृत्यु, २ गम्भीर

२०८२, १३ श्रावण सोमबारमा प्रकाशित

कपिलवस्तु –

कपिलवस्तुमा आइतबार साँझ करिब ८ बजे शिवराज नगरपालिका–१ उमरीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बस र अटो रिक्सा एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ९०१३ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ह ४९५४ नम्बरको अटो आपसमा ठोक्किँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ।

घाइतेहरूलाई तत्कालै संजिवनी सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको थियो। उपचारकै क्रममा दुई जनाको मृत्यु भएको वडा प्रहरी कार्यलयका प्रहरी निरीक्षक सुजन शाहले जनाउनु भयो ।

मृतकमा अटो चालक शिवराज नगरपालिका–१ उमरीका अन्दाजी ५० वर्षीय रित बहादुर सुनार र अटोमा सवार शिवराज–३ बलुहवाकी अन्दाजी १७ वर्षीया रुबिना राना रहेका छन्।

घाइते हुनेमा प्युठानको ऐरावती गाउँपालिका घर भई हाल बलुहवामा रुबिना रानाको घरमा डेरा गरी अध्ययनरत १६ वर्षीया सरस्वती भण्डारी र अन्दाजी १८/१९ वर्षीय शक्ति भण्डारी रहेका छन्। दुबैजनाको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ। सरस्वतीको अवस्था गम्भीर रहेको छ भने शक्तिको अवस्था मध्यम छ।

घटनास्थलमा वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा १२ जनाको टोली खटिएको थियो। घटनास्थल नगरपालिका कार्यालयबाट करिब ६ किलोमिटर पश्चिम पर्छ।

दुर्घटनामा संलग्न बसका चालक रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–३ खाराका ३० वर्षीय पहल बहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu