एक महिनामा विदेशबाट १७४ नेपाली बाकसमा फर्किए
काठमाडौं-
वैदेशिक रोगजारीका लागि विभिन्न देशमा रहेका नेपालीहरूको मृत्यु कहालीलाग्दै बन्दै गएको छ । धन कमाउने र घर परिवारलाई सुखमा राख्ने सपना बोकेर जाने नेपालीहरू लाश बनेर बाकसमा आउने गरेका छन् । पछिल्लो एक महिनामा मात्रै १७४ जना नेपालीको शव विदेशबाट ल्याइएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांक अनुसार साउन महिनामा मात्रै १७४ जनाको शव नेपाल ल्याइएको हो ।भन्सार कार्यालयको तथ्यांक अनुसार हरेक दिन सरदरमा ४ देखि ५ जनाको शव आउने गरेको छ । कुवेत, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया, कतारलगायतका देशमा मृत्यु भएका नेपालीहरूको शव ल्याईएको हो ।
वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१र०८२ मा वैदेशिक रोजगारीमा रहेका एक हजार २५५ जनाको मृत्यु भएको थियो । यो संख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर मृत्यु भएपछि बोर्डबाट आर्थिक सहायता प्राप्त गरेकाहरूको तथ्यांक हो ।प्रहरीले मुचुल्का उठाएर सम्बन्धित परिवारलाई बुझाएको तथ्यांक हेर्दा एक हजार ४०१ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०र०८२ मा एक हजार ४५५ जनाको मृत्यु भएको थियो ।