कपिलवस्तुको शिवराजमा पिस्तोल देखाएर ११ लाख बराबरको चोरी
कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरस्थित हंसबाहिनी टोलमा गए राति एक घरमा चोरीे भएको छ । स्थानीय सीता खनालको घरमा रातिको करिब १२ः३० बजे चार जनाको समूहमा आएका चोरहरूले पिस्तोल र खुकुरी देखाउँदै घरभित्र पसेर सदस्यलाई बन्धक बनाएर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका छन् ।
चोरहरूले घरभित्रै आतंक मच्चाएको र नगद तथा सुनचाँदीका गहना २ वटा मोवईल लुटेर फरार भएको पारिवारिक स्रोतले जनाएको छ । घटनापछि पीडित परिवार त्रसित भएका छन । घटनाको खबर पाउनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो । चोरीमा संलग्न समूहको खोजी सुरु भएको र अनुसन्धानलाई तीव्र पारिएका वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।
स्थानीयवासीले रातको समयमा प्रहरी गस्ती कमजोर हुने गरेको भन्दै असुरक्षाबारे चासो व्यक्त गरेका छन् । पछिल्ला दिनमा शिवराज क्षेत्रमा चोरी र ठगीका घटना बढ्दै गएपछि सर्वसाधारणमा त्रास फैलिएको छ । यसैबीच प्रहरीले सर्वसाधारणलाई सचेत रहन र शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।