आईजीपी थापाले पाए अवकाश
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले अवकाश पाएका छन् ।
प्रहरीको ३० वर्षे सेवा अवधिका कारण थापाले आजदेखि अवकाश पाएका हुन् । उनीसँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरीले पनि अवकाश पाएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा आईजीपी र दुई जना एआईजीलाई नवनियुक्त आईजीपी चन्द्र कुवेर खापुङले बिदाइ गरे ।
त्यसअघि गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले पनि आईजीपी थापालाई बिदाइ गरेका थिए । थापा २०८१ चैत ४ मा ३१ औँ प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । सेवा निवृत भएका तिनै जना २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । थापाले आईजीपीको रूपमा करिब ६ महिना प्रहरी सङ्गठनको कमान्ड गरे ।
नवनियुक्त आईजीपी खापुङले बिहीबारदेखि प्रहरीको ३२औँ आईजीपीका रूपमा कमान्ड सम्हाल्नेछन् ।