एमाले महाधिवेशन: नारायण जस्ता युवालाई किन अवसर नदिने ?
कपिलवस्तु — नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि प्रतिनिधि छनोट अन्तिम चरणमा पुगेसँगै कपिलवस्तु क्षेत्र नम्बर ३ मा युवातर्फबाट प्रतिस्पर्धा चर्किएको छ । युवातर्फ चार जनाको नाम आएका छन् — नारायण सापकोटा, शिवकुमारी चौधरी, मदन सापकोटा र दीपेन्द्र महरा ।
४० वर्ष मुनिको तर्फबाट एकजनामात्र महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था रहेको अवस्थामा योग्य, सक्रिय र निरन्तर संगठनमा खटिरहेका युवा नारायण सापकोटा चर्चाको केन्द्रमा छन् ।
यसअघि भदौ २३–२४ मा चलेको ‘जेनजी आन्दोलन’ ले पनि संगठनमा युवा सहभागिता र अवसरको माग बलियो रूपमा उठाएको थियो । तर, यही बेला दुईपटक उपमेयर भइसकेकी शिवकुमारी चौधरी पुनः महाधिवेशन प्रतिनिधिमा आकांक्षी भएपछि “युवाले फेरि पनि अवसर गुमाउने कि ?” भन्ने प्रश्न तीव्र रूपमा उठेको छ ।
युवाहरूको आरोप छ — “चौधरीले धेरैपटक अवसर पाइरहेकी छन्, अब नयाँ पुस्तालाई मौका दिनुपर्छ।” प्रदेश सदस्यदेखि विभिन्न जिम्मेवारी सम्हालेका चौधरीले संगठनमा उल्लेखनीय काम गर्न नसकेको पनि युवाहरुको आरोप छ ।
युवासंघ शिवराजका अध्यक्ष नारायण सापकोटाका अनुसार उनले पार्टीको शक्तिशाली संगठन निर्माणदेखि सडक आन्दोलन, चुनावी अभियान र सामाजिक काममा निरन्तर खटेर योगदान दिएका छन् ।
सापकोटा भन्छन् — “दैनिक रूपमा संगठन र जनतासँग काम गरेको मान्यताको आधारमा यसपटक युवा प्रतिनिधि बनेर महाधिवेशनमा जान चाहन्छु ।”
क्षेत्र नम्बर ३ का धेरै युवा कार्यकर्ताले पनि नारायण सापकोटालाई प्रतिनिधि बनाउन नेतृत्वलाई दबाब दिइरहेका छन्। उनीहरूको तर्क छ —
“समाजसेवा, संगठन विस्तार र युवालाई जोड्ने काममा सक्रिय सापकोटाले नै ४० वर्षमुनिको प्रतिनिधित्व गर्नुपर्छ ।”
नारायण सापकोटा लामो समयदेखि युवासंघमा सक्रिय रहँदै आएका छन् । स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनलगायतका सामाजिक अभियानमा उनले उल्लेखनीय भूमिका खेलेका छन् । सक्रियता, समर्पण र संगठनप्रति निष्ठाका कारण उनले युवामाझ बलियो आधार बनाएका छन् ।
महाधिवेशन प्रतिनिधि छनोट अन्तिम चरणमा पुगेको बेला,“युवालाई अवसर दिने कि फेरि पुरानोलाई ?”
भन्ने बहस एमालेभित्र तीव्र बनेको छ ।
युवाहरूको धारणा स्पष्ट छ — “नारायण सापकोटाजस्ता योग्यता, मेहनत र भविष्यसहितका युवालाई नै यसपटक अग्राधिकार दिनुपर्छ ।”
