कांग्रेसमा दुई खेमाका छुट्टाछुट्टै महाधिवेशन
पार्टी विधानको फरक–फरक व्याख्या गर्दै कांग्रेसका संस्थापन र इतर पक्षले खुला रूपमा समानान्तर प्रक्रिया र गतिविधि अगाडि बढाएका छन् । एकै समयमा विशेष र नियमित महाधिवेशनको तयारीसहित दुवै पक्ष आमनेसामने हुँदा कांग्रेसमा समानान्तर संरचना निर्माण हुने खतरा बढेको छ । चुनावअघि चर्किँदो आन्तरिक शक्तिसंघर्षले पार्टीलाई औपचारिक विभाजनको सँघारमा पुर्याउन सक्ने विश्लेषकको टिप्पणी छ ।
कार्यसम्पादन समितिको बहुमतले २६–२८ पुसमा केन्द्रीय महाधिवेशन गर्ने गरी त्यसअघि सम्पन्न गर्ने वडादेखि प्रदेशसम्मको महाधिवेशन तालिका संशोधनको निर्णय गरेको छ । जबकि महामन्त्रीद्वय थापा–शर्मा समूहले विशेष महाधिवेशनका लागि केन्द्रमा दर्ता भएको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार अघि बढ्ने पुन: घोषणा गरेका छन् । सभापतिले नबोलाए महामन्त्रीको हैसियतमा आफूहरूले विधानअनुसार नै विशेष महाधिवेशन आह्नान गर्ने उनीहरूको भनाइ छ ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार १६ पुसदेखि सुरु हुनुपर्ने कांग्रेसको वडा अधिवेशन हुन सकेन । यसैबिच, महामन्त्रीद्वय थापा र शर्माले बिहीबार केन्द्रीय कार्यालयको तर्फबाट विज्ञप्ति जारी गर्दै पुसमा हुने नियमित महाधिवेशन स्थगन गरी विशेष महाधिवेशनतर्फ जानुपर्ने र त्यसका लागि केन्द्रीय समितिमा सहमति जुटाउने प्रयास गरिने उल्लेख गरेका थिए ।
अर्कोतर्फ सुरुदेखि नै विशेष महाधिवेशनको विपक्षमा रहेका सभापति देउवाले बिहीबार र शुक्रबार निकटस्थ नेताहरूसँग छलफल गरेपछि शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका थिए । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी २८–३१ वैशाखमा महाधिवेशन गर्ने र त्यसअघि २१ चैतदेखि १२ वैशाखसम्म वडादेखि प्रदेश तहसम्मका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए ।
त्यसलगत्तै बैठकमा महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्री फर्मुल्लाह मन्सुर तथा नेताहरू अर्जुननरसिंह केसी र उमा रेग्मीले प्रस्तावप्रति आपत्ति जनाएका थिए । उनीहरूबाहेकका सदस्यहरूले कार्यवाहक सभापतिको प्रस्तावमा सहमति जनाएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ पत्रिकासँग बताए । ‘उहाँहरूले नोट अफ डिसेन्ट राख्दै विशेष महाधिवेशनमा जाने अडान व्यक्त गर्नुभयो,’ महतले भने । महतका अनुसार इतर समूहका नेता डा. शेखर कोइरालाले भने वैशाखमा महाधिवेशन गर्ने निर्णयलाई समर्थन गरेका छन् ।
बैठकमा महामन्त्री थापाले परिवर्तित परिस्थितिमा चुनावअघि नेतृत्व परिवर्तन र नीतिगत स्पष्टताका आधारमा कांग्रेस अघि बढ्नुपर्नेमा आफू दृढ संकल्पित रहेको र विशेष महाधिवेशनको अब विकल्प नभएको धारणा राखेका थिए । उनले पुसभित्र नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा २९ पुससम्म विशेष महाधिवेशन बोलाउनु बाध्यकारी रहेको बताएका थिए ।
साथै, उनले केन्द्रीय समितिले निर्णय नगरे केन्द्रीय कार्यालयको तर्फबाट आफूले बोलाउने घोषणा गरेका छन् । ‘आफूलाई मन परेकोमा विधान लागू गर्ने र मन नपरेको विधान लागू नहुने भन्ने हुँदैन । पार्टी विधानको धारा १७ (२)ले विशेष महाधिवेशन मन लाग्दा बोलाउने, मन नलाग्दा नबोलाउने भन्ने हुँदैन । यो छनोटको विषय होइन,’ थापाले भने, ‘विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर पार्टीमा बुझाएको समय (९० दिन) पुस २८–२९ मा सकिन्छ । यो अवधिभित्र विशेष महाधिवेशन गर्दिनँ भन्न पाइँदैन ।’
उनले केन्द्रीय कार्यसमितिले निर्णय नगरेमा विधानको धारा १७ (२) पालना गर्ने र विशेष महाधिवेशनमा जाने बताए । ‘केन्द्रीय समितिले निर्णय गर्दैन भने केन्द्रीय कार्यालयका रूपमा महामन्त्रीले पुसभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्छ । केन्द्रीय समितिले गरोस् वा केन्द्रीय कार्यालय (महामन्त्री)ले गरोस् विशेष महाधिवेशन हुन्छ,’ उनले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिले वैशाखमा महाधिवेशनको निर्णय गर्यो भनेर अब घर गएर सुत्ने होइन । केही दिनभित्रै विशेष महाधिवेशनका लागि काठमाडौं आउने तयारी गर्न म आह्वान गर्छु ।’ विशेष महाधिवेशन पक्षधरले २७ देखि २९ पुससम्म विशेष महाधिवेशनका लागि भृकुटीमण्डपस्थित हल र चौर बुक गरिसकेका छन् ।
पार्टी प्रवक्ता महतले भने विशेष महाधिवेशन हुन नसक्ने जिकिर गरे । ‘वैशाखमा नियमित महाधिवेशन गर्ने भनेको अहिले जारी प्रक्रियाको निरन्तरता हो, नयाँ होइन । त्यसकारण विशेष महाधिवेशनको अहिले औचित्य रहँदैन । यो कुरा हस्ताक्षरकर्ताहरूले बुझ्नुभएको छ । क्रियाशील सदस्यता नटुंगिएको अवस्थामा पूर्वघोषित कार्यतालिकाअनुसार १६ पुसदेखि वडा अधिवेशन हुन सकेन । त्यसपछि कार्यतालिका संशोधन भएको हो,’ उनले भने, ‘संशोधनसहितको निरन्तरता हुनाले महाधिवेशनमा समस्या हुँदैन । साथीहरूले यो बिस्तारै बुझ्नुहुन्छ ।’
देउवाले अब के गर्लान् ?
पार्टी विभाजनसम्म पुग्न सक्ने गरी दुवै पक्ष आमने–सामने भएपछि सभापतिको हैसियतमा शेरबहादुर देउवाको भूमिका के होला भनेर सबैको चासो छ । दुवै पक्षले औपचारिक प्रतिक्रियामा भने पार्टी एकतामा जोड दिएका छन् । तर, एकले अर्कोमाथि निर्णायक दबाब बनाउने र आरोपित गर्ने खेल भने रोकिएको छैन ।
विश्लेषक लोकराज बराल भन्छन्, ‘सभापति शेरबहादुर देउवाले बुद्धि पुर्याएर प्रयास गरे भने पार्टी जोगिएला । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरू पछि हट्ने सम्भावना देख्दिनँ ।’
पार्टीमा देखिएको संकट टार्न भन्दै आफूलाई भेट्न आएका नेताहरूसँग देउवाले पार्टी फुटमा जान नहुने बताएका थिए । बिहीबार केन्द्रीय सदस्य आङ्गेलु शेर्पा, उदयशमशेर राणा, राजेन्द्र केसीलगायतको टोलीले सुरुमा सभापति देउवा र त्यसपछि महामन्त्रीद्वय थापा र शर्मासँग भेटेको थियो ।
‘पार्टी कुनै पनि हालतमा फुटतर्फ जानुहुन्न । विशेष महाधिवेशनको विषयमा उहाँहरू (महामन्त्रीद्वय)ले धेरै हतार गर्नुभो । मैले नेतृत्व छाडेर कार्यवाहक दिइसकेको छु । मैले त अब छाड्ने नै हो । अब पनि मैले के छाड्नुपर्ने हो त्यसका लागि पनि तयार छु । तर, पार्टी फुट्नुहुँदैन,’ देउवालाई उद्धृत गर्दै केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले नयाँ पत्रिकासँग भने ।
महामन्त्री थापाले भने समानुपातिक उम्मेदवार सिफारिस प्रक्रियामा आफूहरूलाई बाइपास गरिएको, पुसभित्र नियमित महाधिवेशन गर्न आलटाल गरिएको भन्दै गुनासो गरेका थिए । ‘हामी पार्टी फुट्न दिँदैनौँ र पार्टी फुट्दैन भन्ने उहाँहरूको भनाइ थियो,’ शेर्पाले भने, ‘हामीले उहाँहरूलाई मध्यमार्गी बाटो निकाल्नुस् र चुनावको मुखमा पार्टीमा एकताको सन्देश दिनुहोस् भन्यौँ ।’
प्रवक्ता महतले सहमतिका लागि सभापति देउवाले विगतदेखि नै भूमिका निर्वाह गरेको उल्लेख गर्दै भने, ‘अब पनि उहाँले सहमतिका लागि प्रयास गर्नुहुन्छ । तर, निर्णय प्रक्रियामा फरक मत राखे पनि उहाँहरू (महामन्त्री)ले बहुमतको निर्णय नै मान्दिनँ भन्न पाउनुहुन्न । त्यसमा टेकेर अघि बढ्नुपर्छ ।’
साभार : नयाँपत्रिका