Connect with us
Kapilvast Forest

शीर्ष नेता को कहाँबाट उठ्दै छन्

२०८२, ५ माघ आईतवारमा प्रकाशित

आगामी निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरूको उम्मेदवारी क्षेत्र लगभग टुंगो लागेको छ । तल्लो तहबाट सिफारिस भएका नामअनुसार नै शीर्ष नेताहरू उम्मेदवार बन्ने तयारीमा छन् ।

एमाले : एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट निर्वाचन लड्ने तयारीमा छन् । उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही २, गोकर्ण विष्ट गुल्मी २ र पृथ्वीसुब्बा गुरुङ लमजुङबाट उम्मेदवार बन्ने भएका छन् ।

महासचिव शंकर पोखरेल दाङ २ बाट, उपमहासचिवहरू लेखराज भट्ट कैलाली ४, योगेश भट्टराई ताप्लेजुङ र रघुवीर महासेठ धनुषा १ बाट चुनाव लड्दै छन् । पूर्वउपमहासचिव प्रदीप ज्ञवाली गुल्मी १ र पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।

नेकपा : नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचन लड्ने भएका छन् । सहसंयोजक माधवकुमार नेपाल रौतहट १ बाट उम्मेदवार बन्ने तयारीमा छन् । वरिष्ठ नेता झलनाथ खनालले भने चुनाव लड्ने वा नलड्ने निर्णय गरिसकेका छैनन् । उनको नाम बागलुङ २, सर्लाही १ र इलाम १ बाट सिफारिस भएको छ ।

वामदेव गौतम बर्दिया १, नारायणकाजी श्रेष्ठ सर्लाही ३, भीम रावल अछाम १, महिन्द्र राय यादव सर्लाही २ र वर्षमान पुन रोल्पाबाट निर्वाचन लड्ने तयारीमा छन् ।

हिमाल शर्मा काठमाडौं ६, सुमन सायमी काठमाडौं ८, अशेष घिमिरे झापा १, रञ्जित तामाङ झापा ५, त्रिलोचन भट्ट डोटी, नरेश भण्डारी जुम्ला, मनहरि शर्मा पर्वत, राजन दाहाल सिन्धुली २, लेखनाथ न्यौपाने गोरखा २ तथा दैलेखमा अम्मरबहादुर थापा र योगेन्द्र शाही उम्मेदवार बन्ने तयारीमा छन् । सर्लाहीबाट सुवास काफ्ले पनि चुनावी प्रतिस्पर्धामा रहने भएका छन् ।

चितवन ३ मा रेनु दाहाल, कञ्चनपुर १ मा विना मगर, २ मा लालबहादुर खड्का र ३ मा मानबहादुर सुनार उम्मेदवार बन्ने तयारीमा छन् । डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी, बैतडीबाट परमानन्द भट्ट र बाजुराबाट प्रकाश शाह पनि निर्वाचन लड्दै छन् ।

धादिङमा राजेन्द्र पाण्डे र गंगालाल तुलाधरले उम्मेदवारी दाबी गरेका छन् । उदयपुरमा जगन्नाथ खतिवडा र सुरेश राईमध्ये कसलाई टिकट दिने भन्ने विषयमा छलफल जारी छ ।

नेकपाका सहसंयोजक माधवकुमार नेपालले टिकट वितरण तीव्र रूपमा भइरहेको बताए । ‘चुनावको माहोल बन्दै छ । सर्वसम्मत रूपमा टिकट बाँड्दै आएका छौँ । नेकपा सबैभन्दा ठुलो पार्टी बन्छ,’ उनले पत्रकारहरूसँग भने ।

नेता डा. बेदुराम भुसालका अनुसार जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा सिफारिस भएका नाममध्ये एकल नाम सिफारिस भएकालाई टिकट दिइएको छ भने एकभन्दा बढी नाम भएका क्षेत्रमा प्रदेश इन्चार्जसँगको समन्वयमा निर्णय भइरहेको छ । जाजरकोटबाट शक्ति बस्नेत, रुकुम पश्चिमबाट गोपाल शर्मा, डोल्पाबाट धनबहादुर बुढा र सिराहा ४ बाट धर्मनाथ साह उम्मेदवार बन्ने तयारीमा छन् ।

उम्मेदवार टुंग्याउन रास्वपाको बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार टुंग्याउन आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ । प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकका मुख्य एजेन्डा प्रतिनिधिसभा सदस्य निर्वाचन र विविध विषय रहेका छन् ।

रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने जनाएको छ । उम्मेदवार सिफारिसका लागि डा. स्वर्णिम वाग्लेको नेतृत्वमा समिति गठन गरिएको थियो । पार्टीका एक नेताका अनुसार यसअघि निर्वाचन जितेका नेताहरू सोही क्षेत्रबाट पुन: उम्मेदवार बन्ने तयारीमा छन् । सभापति रवि लामिछाने चितवन २ बाट निर्वाचन लड्दै छन् ।

पार्टीले भावी सभापतिका रूपमा अघि सारेका वरिष्ठ नेता बालेन शाह झापा ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । उपसभापति डिपी आर्याल काठमाडौं ९, स्वर्णिम वाग्ले तनहुँ १, महामन्त्री कवीन्द्र बुर्लाकोटी गोरखा २ र प्रवक्ता मनीष झा सिराहा ३ बाट निर्वाचन लड्ने तयारीमा छन् ।

मधेशकेन्द्रित दल छलफलमा
मधेशकेन्द्रित दलहरू आगामी निर्वाचनमा सम्भावित गठबन्धनबारे छलफलमा छन् । जसपा नेपाल र लोसपा एकीकरणपछि बनेको जसपा नेपालले अन्य मधेशकेन्द्रित दलहरूसँग सिट बाँडफाँटबारे संवाद गरिरहेको जनाएको छ । जसपा नेपालका सचिव शैलेन्द्र साहका अनुसार लोकतान्त्रिक मोर्चाका घटकसँग सिट बाँडफाँट टुंगो लागेको छैन । ‘मोर्चाकम एकताबद्ध भएर चुनाव लड्ने सहमति छ । सिट बाँडफाँट भएपछि राम्रो उपस्थिति हुने अपेक्षा छ,’ उनले भने ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी १, २ र ३ बाट सिफारिस भएका छन् । उनी सप्तरी २ बाट निर्वाचन लड्ने तयारीमा छन् । ०७९ को निर्वाचनमा यादव यही क्षेत्रबाट पराजित भएका थिए । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि सप्तरी २ बाटै उम्मेदवार बन्ने तयारीमा छन् ।

गठबन्धन भए यादव र राउतमध्ये एकजना सप्तरी ३ बाट उम्मेदवार बन्ने सम्भावना रहेको एक नेताले बताए । जसपा नेपालका नेता शरत्सिंह भण्डारी महोत्तरी २ बाट र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही २ बाट निर्वाचन लड्ने तयारीमा छन् ।

साभार: नयाँपत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu