कांग्रेस देउवा पक्ष आज सर्वोच्च जाँदै
कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोगले शुक्रबार टुंग्याए पनि असन्तुष्ट देउवा पक्ष आधिकारिकता दाबी गर्दै आइतबार सर्वोच्च अदालत जाने भएको छ । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने आयोगको निर्णय अस्वीकार गर्दै कानुनी लडाइँमा जाने निर्णय गरेको हो ।
मुद्दा–मामिलाको जिम्मा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ । ‘आयोगको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा–मामिला एवं अन्य कानुनी काम–कारबाही गर्न निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गरिएको छ,’ देउवा समूहका निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले भने । देउवानिकट वरिष्ठ अधिवक्ता खम्मबहादुुर खाती, शेरबहादुर केसीलगायतको टिमले तयार गरेको रिट आइतबार सर्वोच्चमा दर्ता गर्ने देउवा समूहको तयारी छ ।
बैठकले गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिने आयोगको निर्णय नेपालको संविधान, प्रचलित कानुन, राजनीतिक दलसँग जोडिएका कतिपय विवादहरूको निरूपण गर्दा निर्वाचन आयोगकै विगतका निर्णयहरूबाट स्थापित नजिरहरू, कांग्रेसबाट निरन्तर रूपमा गरिएका पार्टीको निर्णयसँग सम्बन्धित पत्राचार र बुझाइएका प्रमाणहरूलाई बेवास्ता गरिएको आरोप लगाएको छ । ‘तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्यासमेत नहेरी एकलौटी रूपले गरिएको निर्णय दूषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ,’ महतले भने, ‘देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्याउने मनसाय प्रस्ट देखिन्छ । यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो ।’
देउवा समूहको औपचारिक बैठकअघि अनौपचारिक छलफलमा नेताहरूको मत बाझिएको थियो । ‘एकथरी साथीहरूले त अदालतको निर्णय हाम्रो पक्षमा नआउन्जेल हामी विधिवत् रूपमा निवर्तमान भएका छौँ भन्ने कुरालाई आत्मसात् गरौँ भन्नुभयो । अर्काथरीले चाहिँ निर्वाचन आयोगको निर्णयलाई नमान्ने भनिसकेपछि निवर्तमान भएका छैनौँ, अदालतले नै निर्णय गरेपछि मात्रै निवर्तमान हुन्छौँ भन्ने धारणा राख्नुभयो,’ देउवानिकट एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने ।
नेता शेखर कोइरालाले निवर्तमान कार्यवाहक सभापति खड्कासहितका नेतासँग अनौपचारिक छलफल गरेपछि खड्काले बैठकमा सडक आन्दोलनको एजेन्डा पेस गरेनन् । उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगले फरक निर्णय गरे देशव्यापी आन्दोलन गर्ने चेतावनी सार्वजनिक गरेका थिए । ‘कार्यवाहक सभापतिले कानुनी उपचार खोज्ने प्रस्ताव राख्नुभयो, सबैले ताली बजाएर समर्थन गर्यौँ । आन्दोलनको कुरा आएन,’ देउवानिकट ती नेताले भने । त्यसपछि देउवा समूहले आयोगको निर्णयविरुद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको थियो । कोइरालाले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस फेरि मिल्ने जिकिर गरे । ‘नेपाली कांग्रेस फेरि मिल्छ, हामीले मिलाउनुपर्छ । आपसी संवादबाट नै कांग्रेसको विवाद सल्टिने हो,’ कोइरालाले भने, ‘हामी मिलाउँछौँ ।’