६ महिनामा वैदेशिक व्यापार १० खर्ब नाघ्यो
चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो ६ महिना (साउन–पुस)मा नेपालको वैदेशिक व्यापारको आकार १० खर्ब ८१ करोड नाघेको छ । वस्तु आयात र निर्यात सँगसँगै बढ्दा वैदेशिक व्यापारको आकार ठुलो भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापारको आकार नौ खर्ब २१ अर्बमा सीमित थियो । अर्थात् चालू आवको यस अवधिमा वैदेशिक व्यापारको आकार १७.३६ प्रतिशतले बढेको हो । चालू आवको मंसिरसम्म कुल वैदेशिक व्यापार ८ खर्ब ८२ अर्ब मात्रै थियो । पुस महिनामा एक खर्ब ९८ अर्बको वैदेशिक व्यापार भएको छ ।
कुल इन्धन आयात बढ्यो, खाना पकाउने ग्यासको आयात घट्यो
चालू आर्थिक वर्षको ६ महिनामा एक खर्ब २८ अर्बको इन्धन आयात भएको छ । गत आवको सोही अवधिमा एक खर्ब २५ अर्बको आयात भएको थियो । चालू आवको ६ महिनामा ५८ अर्ब २७ करोडको डिजेल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा ५४ अर्ब ३६ करोडको डिजेल आयात भएको थियो । अर्थात्, डिजेलको आयात मूल्यमा ७.१९ प्रतिशत र परिमाणमा ३.१६ प्रतिशतले बढेको छ । यसपालि ३३ अर्ब सात करोडको पेट्रोल आयात भएको छ । गत आवको तुलनामा यो आयात २.८७ प्रतिशतले बढी हो । अन्य इन्धनको आयात बढे पनि खाना पकाउने ग्यासको आयात बढे पनि मूल्यमा ९.२४ प्रतिशतको गिरावट भएको छ । चालू आवको ६ महिनामा २७ अर्ब चार करोडको खाना पकाउने ग्यास आयात भएको छ । गत आवको सोही अवधिमा २६ अर्ब ५४ करोडको आयात भएको थियो । चालू आवको ६ महिनामा नौ अर्ब ९३ करोडको हवाई इन्धन आयात भएको छ । यो ५.४१ प्रतिशतको वृद्धि हो ।
खानेतेलको आयात ७४.५४ प्रतिशतले बढ्यो, सूर्यमुखीको भने घट्यो
दोस्रो ठुलो आयात हुनेमा कच्चा पदार्थको रूपमा आउने खानेतेल छ । कुल कच्चा तेलको आयात ७४.५४ प्रतिशतले बढेको छ । गत आवको ६ महिनामा ४० अर्ब ८० करोडको खानेतेलको आयात भएकोमा चालू आवको सोही अवधिमा ७१ अर्ब २२ करोडको आयात भएको छ । यो वर्ष भटमासको कच्चा तेलको आयात दोब्बरभन्दा बढीले बढेको छ । चालू आवको ६ महिनामा ५७ अर्ब ४३ करोडको कच्चा भटमासको तेल आयात भएको छ । गत आवको सोही अविधमा २४ अर्ब ३७ करोडको यस्तो तेल आयात भएको थियो । परिमाणमा पनि भटमासको कच्चा तेलको आयात ११५ प्रतिशतले बढेको छ ।
सूर्यमुखीको कच्चा तेलको आयात भने घटेको छ । चालू आवको ६ महिनामा यो तेलको आयात ३८.८५ प्रतिशतले कम आठ अर्ब २९ करोड रुपैयाँको मात्रै सूर्यमुखी तेल आयात भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब ५६ करोडको सूर्यमुखीको कच्चा तेल आयात भएको थियो । परिमाणमा पनि यो तेल ४३.३२ प्रतिशतले घटेको छ । त्यस्तै, पाम तेलको आयातमा भने ९१.५६ प्रतिशतको वृद्धि भएको छ । गत आवको ६ महिनामा दुई अर्ब ८६ करोडको पाम तेल आयात भएकोमा चालू आवको सोही अवधिमा पाँच अर्ब ४९ करोडको आयात भएको छ । परिमाणमा यो तेलको आयात ७९.८१ प्रतिशतले बढेको छ ।
स्मार्टफोनको आयात ३९ प्रतिशतले बढ्यो
चालू आवको ६ महिनामा स्मार्टफोनको आयात ३९.३९ प्रतिशतले बढेको छ । गत आवको ६ महिनामा १६ अर्ब ७१ करोडको स्मार्टफोन आयात भएकोमा चालू आवको सोही अवधिमा २३ अर्ब २९ करोडको आयात भएको छ । परिमाणमा हेर्ने हो भने चालू आवमा १२ लाख ५२ हजार ६ सय ३४ सेट फोन आयात भएको छ । गत आवको ६ महिनामा ११ लाख ११ हजार पाँच सय ५६ सेट मात्रै आयात भएको थियो । परिमाणमा १२.६९ प्रतिशतले स्मार्टफोनको आयात बढेको छ ।
१०५३ किलो सुन आयात, चाँदीको आयात उच्च
चालू आवको ६ महिनामा एक हजार ५३ किलो एक सय १३ ग्राम सुन आयात भएको छ । यसको मूल्य १८ अर्ब ८३ करोड ३६ लाख रहेको छ । गत आवमा पाँच सय ८६ किलो मात्रै सुन आयात भएको थियो । परिमाणमा सुन आयात ७९.६८ प्रतिशतले बढेको छ । मूल्यमा ६ अर्ब ७१ करोडबराबर सुन भित्रिएको थियो । सुनसँगै चाँदीको आयात पनि ह्वात्तै बढेको छ । चालू आवको ६ महिनामा ३४ हजार ८ सय ९५ किलो सात सय ५४ ग्राम चाँदी आयात भएको छ । गत आवको ६ महिनामा सात हजार दुई सय ७० किलो चाँदी आयात भएको थियो । मूूल्यमा हेर्ने हो भने नौ अर्ब २७ करोड रुपैयाँको चाँदी आयात भएको छ ।
प्याजको आयात बढ्यो, लसुनको घट्यो
खाद्यान्नतर्फ प्याजको आयात ९८.६० प्रतिशतले बढेको छ । चालू आवको ६ महिनामा तीन अर्ब ४९ करोडको प्याज आयात भएको छ । गत आवको सोही अवधिमा एक अर्ब ७५ करोडको प्याज आयात भएको थियो । ताजा लसुनको आयात भने ८३.०४ प्रतिशतले घटेको छ । चालू आवको ६ महिनामा एक अर्ब चार करोडको लसुन आयात भएको छ । गत आवको सोही अवधिमा ६ अर्ब १८ करोडको लसुन आयात भएको थियो ।
सर्वाधिक निर्यातमा भटमासको तेलकै बर्चस्व
६ महिनामा भएको निर्यातमा भटमासको तेलकै वर्चस्व छ । यस अवधिमा ५६ अर्ब ८ करोडको भटमासको तेल निर्यात भएको छ । यसले कुल निर्यातमा ३९.४८ प्रतिशत हिस्सा भटमासको तेलको छ । गत आवको सोही अवधिमा यस्तो हिस्सा १९.१४ प्रतिशत थियो । सो अवधिमा १८ अर्ब ९२ करोडको भटमासको तेल निर्यात भएको थियो । ६ महिनामा सात अर्ब १९ करोडको अलैँची निर्यात भएको छ । चार अर्ब ८७ करोडको गलैँचा, चार अर्ब ७८ करोडको सूर्यमुखी तेल, तीन अर्ब ४६ करोडको जुटको फेब्रिक र दुई अर्ब ९० करोडको फेल्ट निर्यात भएको छ ।

साभार : नयाँपत्रिका