Connect with us
Kapilvast Forest

मजदुरमाथि दुर्व्यवहार हुन थालेपछि रोकियो पूर्व–पश्चिम राजमार्गको काम

२०८२, १३ माघ सोमबारमा प्रकाशित

राजमार्ग विस्तारको सामग्री बोक्ने गाडी रोक्ने र मजदुरमाथि हातपात गर्ने क्रम बढेपछि पूर्व–पश्चिम राजमार्ग विस्तारको काम रोकिएको छ । झापामा विगतदेखि नै गुन्डागर्दीमा संलग्न सुरेश आलेमगर, राज आङ्देम्बेलगायतले अनावश्यक दुःख दिने र हातपात गरेको भन्दै सुरक्षाको कारण देखाएर आइतबारबाट निर्माण कम्पनीले काम रोकेको हो ।

सुरक्षाका कारण काम गर्न नसकिएको भन्दै निर्माण कम्पनी एभरसकोन–कालिका जेभीले धम्क्याउने व्यक्तिको नामसहित काँकडभिट्टा–लौकही सडक योजना कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ । उनीहरूले निर्माण सामग्री बोकेका गाडी रोक्नदेखि मजदुरसम्मलाई हातपात गरेको उजुरीमा उल्लेख छ । पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने काँकडभिट्टा–लौकही सडकअन्तर्गत काँकडभिट्टादेखि केर्खासम्मको पूर्वखण्डको ४५ किलोमिटर सडकको काम अवरुद्ध भएको हो । मजदुर र चालकमाथि हातपात र धम्की हुन थालेपछि काम रोकिएको निर्माण कम्पनीले जनाएको छ । यो राजमार्गलाई एसियन हाइवेमा विस्तार गर्ने योजनाअन्तर्गत ठेक्का लगाएर काम भइरहेको छ ।

तर, करिब २० दिनदेखि झापाको कन्काई नगरपालिका क्षेत्रमा केही व्यक्तिले गुन्डागर्दी शैली देखाएपछि काम रोकिएको निर्माणको जिम्मा पाएको एभरसकोन–कालिका जेभीका प्रतिनिधि उज्ज्वल प्रसाईंले जानकारी दिए । बिर्तामोडका सुरेश आलेमगर, राज आङ्देम्बेलगायतले निर्माणको काममा प्रयोग भएका सवारीचालकलाई हातपात गर्ने, धम्की दिनेलगायत गतिविधि हुन थालेपछि काम रोकिएको उनको भनाइ छ । सुरेश नेपाली कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल खेलकुद महासंघका झापा अध्यक्ष हुन् । आङ्देम्बे एमालेनिकट युवा संघका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज हुन् । उनीहरू दुवै झापामा विवादमा आइरहने पात्र हुन् । त्यस्तै, एक उप्रेती थरका व्यक्तिले पनि धम्की दिएको निर्माण कम्पनीको उजुरीमा उल्लेख छ ।

उनीहरूसहित केही व्यक्तिले मजदुरमाथि दुव्र्यवहार गर्दा मजदुरले काम गर्न नमानेको एभरसकोन–कालिका जेभीका प्रतिनिधि प्रसाईंले जानकारी दिए । ‘हाम्रो सातवटा गाडीलाई अनावश्यक दुःख दिएर रोकेर राखेका छन् । मजदुरलाई धम्क्याउने, कहिले खुकुरी देखाउने काम भएको छ । शनिबार पनि त्यो दोहोरिएपछि म पुगेको थिएँ । ममाथि पनि हातपातको प्रयास भयो । मेरो चालकमाथि कुटपिट भयो,’ उनले भने, ‘यति भएपछि मजदुरले काम गर्न मानेनन् । तसर्थ अहिले काम रोकिएको छ । सडकमा पानी हाल्ने कामसम्म गर्न मजदुरले मानेका छैनन् । सुरक्षाको प्रत्याभूति नभएसम्म काम अघि बढ्दैन ।’

विगतदेखि नै बारम्बार दुःख दिइरहेको र यसपटक भने काम रोक्न बाध्य भएको उनले बताए । कम्पनीले काँकडभिट्टा–लौकही पूर्वी खण्ड दमक आयोजना कार्यालयलाई पत्र लेखेर जानकारी गराइसकेको छ । यसअघि जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत निकायलाई मौखिक जानकारी गराइसकेको उनले बताए । तर, कतैबाट सहयोग नभएको उनको भनाइ छ । ‘झापा प्रशासन गुन्डाहरूले चलाएका छन् कि कसले चलाएको छ, हामीलाई बुझ्न गाह्रो भयो,’ उनले भने, ‘सबैलाई मौखिक जानकारी गराएको हो । कतैबाट सहयोग भएन ।’

शनिबार साँझ निर्माण कम्पनीको गाडी कब्जामा लिएपछि पुगेका निर्माण कम्पनीका प्रतिनिधिमाथि पनि हातपातको प्रयास भएपछि निर्माण कम्पनीले आइतबार जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएको थियो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वीखण्ड)का प्रमुख सुनीलबाबु पन्तसहित निर्माण कम्पनीका प्रतिनिधिले आइतबार जिल्ला प्रशासन कार्यालय झापामा छलफल गरेका थिए । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी गेलालले काम अघि बढाउन निर्माण कम्पनीलाई आग्रह गरेको बताए । ‘काम सुचारु गर्न भनेका छौँ । कसैले केही गरेको छ भने जाहेरी दिन पनि भनेका छौँ,’ प्रजिअ गेलालले भने, ‘त्यसपछि हामी कारबाहीको दायरमा ल्याउँछौँ । हामी सुरक्षा दिन तयार छौँ । समयमा जानकारीचाहिँ हुनुपर्‍यो ।’

प्रमुख जिल्ला अधिकारीले भनेपछि जाहेरी दिन तयारी भएको निर्माण कम्पनी स्रोतले जनाएको छ । हातपातमा संलग्नविरुद्ध सोमबार जाहेरी दिइनेछ । यद्यपि, अहिले काम गर्ने वातावरण नभएको निर्माण कम्पनीका प्रतिनिधि प्रसाईं बताउँछन् । ‘हाम्रो ६ वटा टिपर सडकमा छन् । एउटा प्रहरीकहाँ छ । प्रहरीले पनि कागजात देखाउँदा पनि छाड्दैन,’ उनले भने, ‘चालकहरू शनिबारको घटनापछि कहाँ छन् थाहा छैन । हामी खोज्दै छौँ । घटनामा संलग्नलाई कारबाही नगरेसम्म काम सुरु गर्ने वातावरण छैन ।’

काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकका प्रमुख पन्तले निर्माण कम्पनीले विगतदेखि नै समस्या झेल्नुपरेको बताए । सबै मापदण्ड पूरा गर्दा पनि प्रहरीले समेत दुःख दिने गरेको उनको भनाइ छ । यद्यपि, काम सुचारु गर्ने वातावरण तयार गर्न आफूहरू लागिपरेको उनले बताए । उनले यसरी काम गर्ने समयमा अवरोध हुनु दुःखद भएको बताए । काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटर सडक निर्माणको ठेक्का १० अर्ब ६ करोडमा एभरसकोन–कालिका जेभीले लिएको हो । यो खण्डको काम दुई वर्षमा ३५ प्रतिशत पूरा भएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले जनाएको छ ।

साभार : नयाँपत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu