ठुलो आवाज निकाल्ने आठ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा
ठुलो आवाज निकाली ध्वनि प्रदूषण गराउने तथा स्वरूप परिवर्तन गर्ने आठ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकाको नेपालटार डाँडागाउँस्थित सडकखण्डमा गरिएको विशेष चेकिङको क्रममा आठवटा ठुलो आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गर्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
तारकेश्वर क्षेत्रमा स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाल्ने मोटरसाइकल चलाउने गरेको भन्ने स्थानीयको सूचनाको आधारमा तारकेश्वर नगरपालिका– ८ मा रहेको सम्बन्धित निकायमा दर्ता नगरी चलाएको टिटी ग्यारेजमा ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा आठवटा मोटरसाइकल नियन्त्रणमा लिइएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ । ठुलो आवाज निकाली सवारीसाधन चलाउँदा ध्वनि प्रदूषण हुनुका साथै मानवीय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ । नियन्त्रणमा लिइएका सवारीसाधनलाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही गरिने एसपी सुवेदीले जानकारी दिए।