जीवनभर अरूको सन्तान जन्माउन सहयोग गर्ने मालती नागरिकताबाट वञ्चित, ८४ वर्षीया मालतीको मार्मिक कथा)
न्युज सेन्टर नेपाल-
कपिलवस्तु — रातको मध्यभाग, गाउँभरि सन्नाटा। कसैको घरमा सुत्केरी व्यथा लाग्थ्यो भने सबैभन्दा पहिले सम्झिने नाम थियो — मालती हरिजन। न अस्पताल थियो, न एम्बुलेन्स, न दक्ष स्वास्थ्यकर्मी। जोखिमले भरिएको त्यो समयमा गर्भवती महिलाको आशा, परिवारको भरोसा र नवजीवनको सुरक्षाकवच बनेकी थिइन् उनी।
तालीम प्राप्त सुडेनीका रूपमा मालती हरिजनले आफ्नो जीवनको सुनौलो समय गाउँ–समाजको सेवामा बिताइन्। वर्षौँसम्म उनले वर्षा, हिउँद, रात–दिन, दूरी र अभाव केही नभनी घरघर पुगेर सुत्केरी गराइन्। स्थानीयका अनुसार, हजारौँ महिलाले सुरक्षित रूपमा सन्तान जन्माउन पाउनुमा उनको ठूलो भूमिका छ। धेरै अवस्थामा ज्यान जोखिममा रहेका आमा र शिशु उनको अनुभव र साहसले बचेका थिए।
गाउँका ज्येष्ठ नागरिकहरू अझै सम्झन्छन् — “अस्पताल टाढा थियो, बाटो थिएन, साधन थिएन। मालती दिदी नै हाम्रो अस्पताल थिइन्।”
त्यो समय सेवा नै उनको धर्म थियो। पारिश्रमिकको आशा भन्दा पनि कसैको ज्यान जोगिएको खुशी नै उनको कमाइ थियो। नवजात शिशुको पहिलो रोदन सुन्दा उनको अनुहारमा देखिने मुस्कान नै उनको जीवनको सबैभन्दा ठूलो पुरस्कार थियो।
तर समयसँगै देश बदलियो। गाउँमा स्वास्थ्य चौकी आए, बर्थिङ सेन्टर खुले, सुरक्षित सुत्केरी सेवा संस्थागत भयो। नयाँ व्यवस्था आयो र विस्तारै मालती हरिजनको भूमिका इतिहासमा सीमित हुँदै गयो।
आज उनी ८४ वर्षकी भइसकेकी छन्। शरीर कमजोर छ, हिँडडुल गर्न गाह्रो हुन्छ। कहिल्यै अरूलाई सहारा दिने हात आज आफैँ सहाराको खोजीमा छन्। घरको पीढीमा बसेर बितेका दिन सम्झिँदा उनका आँखाबाट आँसु झर्छ।
सबैभन्दा ठूलो पीडा भने नागरिकता अभाव हो। जीवनभर नेपालमै बसोबास गरेकी, यही समाजका लागि योगदान दिएकी मालती हरिजनसँग आजसम्म नेपाली नागरिकता छैन। नागरिकता नभएकै कारण उनले ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता पाएकी छैनन्।
उनी भन्छिन्, “मेरो उमेरका सबै साथीहरू भत्ता लिन जान्छन्। म पनि सँगै जान्छु, तर मेरो नाम हुँदैन। फर्किँदा मन धेरै दुख्छ।”
विगत सम्झँदै उनी थप्छिन्, “पहिले मतदान गर्न जान्थेँ, सरकार बनाउने अधिकार थियो। अहिले नागरिकता छैन भनेर मत हाल्न पनि पाइन्न। म यही देशमा बरसौ देखि स्थायी रूपमा बासोबास गर्दै आए , यहीँ काम गरेँ, तर म अनागरिक भएँ जस्तो लाग्छ।”
देशमा पटक–पटक राजनीतिक परिवर्तन भए। शासन व्यवस्था फेरियो, संविधान बन्यो, नागरिक अधिकारका कुरा उठे। तर गाउँको कुनामा बसेकी एक ज्येष्ठ नागरिकको पहिचान भने अझै अधुरै छ।
स्थानीय बासिन्दा भन्छन्, “जसले सयौँ आमाको ज्यान बचाइन्, आज उनी आफैँ राज्यको सेवाबाट वञ्चित हुनु दुःखद कुरा हो।”
मालती हरिजनको कथा केवल एउटा व्यक्तिको संघर्ष होइन; यो राज्यको पहुँच बाहिर परेका थुप्रै नागरिकहरूको यथार्थ हो। सेवा र समर्पणले भरिएको उनको जीवन अहिले एउटा प्रश्न बनेर उभिएको छ —
नेपालमै स्थायी बासोबास गर्दै , यही समाजको सेवा गरेर जीवन बिताएकी एक ज्येष्ठ महिला साँच्चै अनागरिक हुन सक्छिन् त?
आज उनको चाहना ठूलो छैन। केवल एउटा नागरिकताको कागज, जसले उनलाई राज्यको नजरमा पहिचान दिलाओस्, सामाजिक सुरक्षा भत्ता लिन पाउने अधिकार दिलाओस्, र जीवनको अन्तिम चरणमा सम्मानपूर्वक बाँच्ने आधार बनाओस्।
मालती हरिजनको काँपिरहेको स्वरमा अझै आशा बाँकी छ — “मेरो जीवन त बित्यो, तर राज्यले मलाई आफ्नो नागरिक भनेर चिनिदियो भने ढुक्क भएर आँखा चिम्लिन पाउँथेँ।”