मेरो उम्मेदवारी रद्द भएको छैन: अध्यक्ष यादव
जनता लोकतान्त्रिक पार्टी नेपालका केन्द्रीय अध्यक्ष अशोक कुमार यादवले आफ्नो उम्मेदवारी यथावत् कायम रहेको स्पष्ट पार्दै उम्मेदवारी रद्द भएको भन्ने हल्ला पूर्ण रूपमा असत्य रहेको बताएका छन्।
जनता लोकतान्त्रिक पार्टी, नेपालका तर्फबाट कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार यादवले एक विज्ञप्ति जारी गर्दै आफू निर्वाचन प्रक्रियामा यथावत् रहेको र कुनै पनि कानुनी वा प्रक्रियागत परिवर्तन नभएको जानकारी गराएका हुन्।
यादवले वि.सं. २०८२ फागुन १० गते आफ्नी पूजनीय आमाको दुःखद निधन भएको र धार्मिक तथा सामाजिक संस्कारअनुसार काजक्रिया सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण केही दिन निर्वाचन क्षेत्रमा सक्रिय रहन नसकेको स्पष्ट पारे।
पारिवारिक शोकका कारण सार्वजनिक कार्यक्रममा सहभागी हुन नसकेको अवस्थालाई आधार बनाएर केही अवसरवादी तत्वहरूले उम्मेदवारी रद्द भएको भ्रामक हल्ला फैलाएको उनले बताएका छन्।
“मेरो उम्मेदवारी यथावत् कायम छ। निर्वाचन प्रक्रियामा कुनै परिवर्तन भएको छैन,” यादवले विज्ञप्तिमा उल्लेख गरेका छन्, “जनताको मतादेश प्राप्त गर्न म दृढतापूर्वक प्रतिबद्ध छु।”
उहाँले कपिलवस्तु क्षेत्र नं. ३ का सम्पूर्ण मतदातालाई भ्रममा नपरी सत्य तथ्यका आधारमा निर्णय गर्न आग्रह गर्दै लोकतन्त्रको सुदृढीकरण र क्षेत्रको समग्र विकासका लागि आफ्नो पार्टीको चुनाव चिह्न ‘भैंसी’ मा मतदान गर्न अपिल गरेका छन्।
“जनताको विश्वास, विकासको आधार — यही हाम्रो संकल्प हो,” विज्ञप्तिमा भनिएको छ।