राष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना, सामाजिक सद्भावमा जोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै सामाजिक सद्भाव र सुसंस्कृत समाज निर्माणमा जोड दिएका छन् ।
शुभकामना सन्देशमा राष्ट्रपतिले सीता जयन्तीले नेपालीबीचको एकता अझ सुदृढ बनाउन तथा सुख, शान्ति र समृद्धिका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । उनले माता सीता मिथिलाभूमि नेपालको सुपुत्री हुनु नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरेका छन् ।
हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन सीता जयन्ती विशेष पूजा–अर्चनासहित मनाइन्छ । यस अवसरमा जानकी मन्दिर सहित देशभरका राम–जानकी मन्दिरमा विशेष पूजा गरिन्छ ।
धार्मिक विश्वासअनुसार माता सीतालाई धैर्यता, सहनशीलता र उदारताको प्रतिमूर्तिका रूपमा मानिन्छ । उनलाई आदर्श नारी र मातृशक्तिको प्रतीकका रूपमा श्रद्धापूर्वक स्मरण गरिन्छ ।