परम्परागत शैली तोडिन्छ, रुपान्तरणकारी बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
काठमाडौँ –
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले परम्परागत शैली तोड्दै रुपान्तरणकारी बजेट ल्याइने बताएका छन्।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि पृष्ठपोषण हुने गरी नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको नीतिगत छलफलमा अर्थमन्त्री वाग्लेले पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट ल्याइने स्पष्ट पारे।
उनले परिणाममुखी र सुधार केन्द्रित बजेट ल्याइने बताए। बजेटबारे आम नागरिकमा रहेको अतिरञ्जना र भ्रमप्रति टिप्पणी गर्दै उनले बजेटलाई सरकारको आय-व्यय व्यवस्थापनको व्यावहारिक दस्तावेजका रूपमा बुझ्नुपर्ने धारणा राखे।उनका अनुसार आगामी बजेट निर्माणका लागि सबै मन्त्रालयलाई राष्ट्रिय स्रोत अनुमान समितिले तोकेको करिब १८ खर्ब ९० अर्ब रुपैयाँको सीमाभित्रै रहेर योजना बनाउन निर्देशन दिइएको छ।