मुख्यमन्त्री आचार्य मिडिया विरोधी हुन: गिरी
न्युज सेन्टर नेपाल –
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष बसन्त गिरिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यमाथि कडा आरोप लगाएका छन् । गिरिले मुख्यमन्त्री आचार्यलाई “सञ्चारमैत्री नभएको मात्रै होइन, योजनाबद्ध रूपमा मिडिया क्षेत्र कमजोर पार्न लागेको नेतृत्व” भनेर टिप्पणी गरेका छन् ।
गिरिका अनुसार आचार्यले अर्थमन्त्री हुँदा मिडिया क्षेत्रको करिब ८ करोड रुपैयाँ बजेटलाई घटाएर ३ करोडमा सीमित पारेका थिए । यसले प्रदेशका सञ्चारमाध्यम र पत्रकारको पेशागत सुरक्षामाथि प्रत्यक्ष असर परेको गिरिको दाबी छ ।

त्यति मात्र होइन, आचार्य सञ्चारमन्त्री हुँदा लुम्बिनी प्रदेशको मिडिया कानून नै बिगारेको आरोप पनि गिरिले लगाएका छन् ।
“मिडियालाई सशक्त बनाउने कानून ल्याउनु पर्ने ठाउँमा उल्टै कमजोर बनाउने काम भयो,” उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
अहिले मुख्यमन्त्री बनेपछि समेत आचार्यले सञ्चार क्षेत्रप्रति सकारात्मक संकेत नदेखाएको गिरिको आरोप छ । प्रदेश मिडिया काउन्सिललाई अलपत्र पारिएको, सञ्चारकर्मी विकासका लागि चालु आर्थिक वर्षमा विनियोजित ४ करोड २५ लाख रुपैयाँ बजेट ‘फ्रिज’ गराउने मनसायका साथ काम भइरहेको उनको गम्भीर आरोप छ ।
यो प्रकरणले लुम्बिनी प्रदेशमा सरकार र मिडियाबीचको सम्बन्ध झन् चिसिदै गएको छ।