माओवादीले किन बुझायो पालिकामा ज्ञापनपत्र ?
कपिलवस्तु — नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले किसान, सुकुम्बासी तथा सर्वसाधारण जनतासँग सम्बन्धित विभिन्न समस्या समाधानको माग गर्दै कपिलवस्तुको बाणगंगा नगरपालिका र शिवराज नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ।
पार्टीको नगर समितिले नगर प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा किसानले भोगिरहेका मल अभाव, खेतीका सामग्रीको अनुपलब्धता, सिँचाइ समस्या तथा भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या तत्काल समाधान गर्न माग गरिएको छ।
ज्ञापनपत्रमा हालको आर्थिक तथा सामाजिक अवस्थाका कारण किसान र सर्वसाधारण थप समस्यामा परेको उल्लेख गर्दै समयमै मल बिउ उपलब्ध नभए कृषिमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ। यस्तै वातावरणीय परिवर्तनका कारण मौसमको अनिश्चितता बढिरहेको अवस्थामा किसान झन् मारमा परेको दाबी गरिएको छ।
माओवादीले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले यस्ता समस्यामा संवेदनशील बन्नुपर्ने उल्लेख गर्दै समयमै समाधान नगरिए त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सम्बन्धित पालिकाले लिनुपर्ने चेतावनी समेत दिएको छ।
ज्ञापनपत्रमार्फत पार्टीले किसानलाई आवश्यक पर्ने मल बिउ समयमै उपलब्ध गराउन, सहुलियत दरमा कृषि सामग्री वितरण गर्न तथा कृषि सम्बन्धी सूचना प्रत्येक किसानसम्म पुर्याउन माग गरेको छ।
त्यस्तै, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई ग्यारेन्टीसहित जग्गाधनी पुर्जा उपलब्ध गराउनुपर्ने, आगामी बजेटमा कृषि उत्पादन वृद्धि केन्द्रित योजना ल्याउनुपर्ने तथा अटो र जोताइ भाडामा भइरहेको मनोमानी नियन्त्रण गरी पालिकाले उचित भाडादर निर्धारण गर्नुपर्ने माग पनि गरिएको छ।
बाणगंगा नगर समितिका सचिव राजेन्द्र सी र शिवराज नगर समितिको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा जनताको आधारभूत आवश्यकता सम्बोधन गर्न स्थानीय तह गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ।