सामान किनेको बिलबाट १० लाखसम्म जित्ने अर्थमन्त्रालयले ल्यायो नीति
काठमाडौं । अर्थ मन्त्रालयले करको दायरा विस्तार, वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन प्रोत्साहन गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लागू गरेको छ।
कार्यविधिअनुसार नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताले खरिदको वैधानिक बीजक लिएर कार्यक्रममा सहभागी हुन सक्नेछन्। आन्तरिक राजस्व विभागले कार्यक्रम सञ्चालन गर्नेछ भने आवश्यक परे इभेन्ट आयोजक छनोट गरी व्यवस्थापनको जिम्मेवारी पनि दिन सक्ने व्यवस्था गरिएको छ।
कार्यविधिले प्रत्येक पटक एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्दा प्राप्त हुने वैधानिक बीजक कार्यक्रममा सहभागी हुन योग्य हुने व्यवस्था गरेको छ। विद्युतीय माध्यमबाट भुक्तानी गरी प्रणालीमा प्रविष्ट भएका बीजक सम्बन्धित महिनाको उपहार कार्यक्रममा समावेश हुनेछन्। प्रत्येक योग्य बीजकबाट एकवटा उपहार टिकट स्वतः उपलब्ध गराइने व्यवस्था गरिएको छ।
उपहार विजेता छनोट पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत हुने कार्यविधिमा उल्लेख छ। विभागले सञ्चालन गर्ने प्रणालीमा दर्ता भएका योग्य बीजकबाट कम्प्युटर प्रणालीमार्फत गोला प्रथा (ड्र) गरी विजेता छनोट गरिनेछ। कार्यक्रमको पारदर्शिता कायम गर्न आवश्यक अनुगमन तथा अभिलेखीकरणको व्यवस्था पनि गरिएको छ।
कार्यविधिअनुसार उपहार प्राप्त गर्ने व्यक्तिले आफ्नो परिचय खुल्ने विवरण, आवश्यक कागजात तथा बैंक खाता उपलब्ध गराउनुपर्नेछ। उपहार रकम प्रचलित कानुनबमोजिम कर कट्टी गरी सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिने व्यवस्था गरिएको छ।
अर्थ मन्त्रालयको विश्वास छ कि यो कार्यक्रमले उपभोक्तामा खरिद गर्दा अनिवार्य रूपमा बीजक लिने संस्कृतिको विकास गर्ने, कर छलि न्यूनीकरण गर्ने, कारोबारलाई औपचारिक प्रणालीमा ल्याउने तथा राजस्व संकलनमा सकारात्मक योगदान पुर्याउनेछ।