लुम्बिनीमा सञ्चार माध्यमको भूमिका विषयक कार्यशाला सुरु
कपिलवस्तु –
खाद्य सुरक्षा, पोषण तथा जीविकोपार्जनसँग सम्बन्धित तथ्यमा आधारित पैरवी प्रवर्द्धनमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिकालाई केन्द्रमा राख्दै दुई दिवसीय कार्यशाला कार्यक्रम लुम्बिनीमा सुरु भएको छ ।
उक्त कार्यक्रम कालिका स्वालम्बन तथा सामाजिक केन्द्र कपिलवस्तु, फर्वार्ड नेपाल, आरआरएन तथा किड्स संस्थाको संयुक्त आयोजनामा तथा नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तुको सहकार्यमा कार्याशाला सुरु भएको पत्रकार महासघंका अध्यक्ष डिलाराम भुसालले जानकारी दिनुभयो ।
कार्यशालामा खाद्य सुरक्षा, जीविकोपार्जनका रणनीतिहरू, खाद्य अधिकारसम्बन्धी वकालत तथा निर्णय प्रक्रियामा समुदायको पहुँच विस्तारका विषयमा विस्तृत छलफल गरिएको कालिकाको कमला सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा विशेषगरी सिमान्तकृत समुदायका नागरिकहरूको जीवनस्तर उकास्न सञ्चार माध्यमले खेल्न सक्ने भूमिकाबारे जोड दिइएको पत्रकार राम प्रघट कोरीले बताउनु भयो ।
आयोजकका अनुसार परियोजनाबाट हालसम्म कुल ५,२४१ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्, जसमा ७५ प्रतिशत महिला तथा किशोरीहरू रहेका छन् ।
त्यस्तै, महाराजगञ्ज, बुद्धभूमि र कपिलवस्तु नगरपालिका गरी तीन वटा पालिकाका करिब २.५ लाख जनसंख्या अप्रत्यक्ष रूपमा लाभग्राही बनेका छन्।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार सन् २०२२ को तुलनामा समग्र कुपोषणको दरमा कमी आएको देखिएको छ। यद्यपि, कुपोषणका केही प्रमुख कारणहरू अझै विद्यमान रहेको उल्लेख गरिएको छ।
विशेषगरी आमाहरू काममा व्यस्त रहने कारण नवजात शिशुले पर्याप्त स्तनपान गर्न नपाउने अवस्था कुपोषणको प्रमुख कारणको रूपमा औंल्याइएको छ।
सञ्चार माध्यममार्फत यस्ता मुद्दाहरूलाई प्रभावकारी रूपमा उठान गरी नीति निर्माण तहसम्म आवाज पुर्याउन सकेमा खाद्य सुरक्षा र पोषण सुधारमा थप उपलब्धि हासिल गर्न सकिने सहभागीहरूले निष्कर्ष निकालेका छन्।