कपिलवस्तुमा ट्राफिक सचेतना तथा सडक सुरक्षा अभिमुखीकरण
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको चन्द्रौटामा ट्राफिक सचेतना तथा सडक सुरक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
शिवराज नगरपालिकाको सहकार्य तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा शैक्षिक संस्थाका बस चालक तथा सहचालकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु (गोरुसिङ्गे) का प्रमुख प्रहरी निरीक्षक राजन ढकालले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनका लागि चालक र सहचालकलाई ट्राफिक नियम, सडक सुरक्षाका उपाय तथा जिम्मेवार सवारी सञ्चालनसम्बन्धी जानकारी प्रदान गरिएको बताउनुभयो।
उहाँका अनुसार आम नागरिकमा ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा समय–समयमा यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
त्यसैगरी, अस्थायी ट्राफिक प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रवीन खड्काले शिवराज नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयका बस चालकहरूलाई ट्राफिक नियम, सुरक्षित सवारी सञ्चालन, यात्रुको सुरक्षा तथा दुर्घटना न्यूनीकरणका उपायबारे प्रशिक्षण प्रदान गरिएको जानकारी दिनुभयो।
सडक दुर्घटना न्यूनीकरणका लागि यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै स्थानीयवासीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन्।