मधेसी समुदायका युवाहरू रास्वपातर्फ आकर्षित, ७ सय युवाहरू रास्वपा प्रवेश
न्युज सेन्टर नेपाल-
कपिलवस्तु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति मधेसी समुदायका युवाहरूको आकर्षण बढ्दै गएको छ । यसैक्रममा कपिलवस्तुको कृष्णनगरमा आयोजित एक भव्य कार्यक्रमबीच जनमत पार्टीका युवा नेता राहुल पाण्डेसहित ७ सय युवाहरू रास्वपामा प्रवेश गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी कृष्णनगर नगर सभापति शाजित मुसलमान र युवा नेता मिर्जा रासिद बेगको नेतृत्वमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रास्वपा लुम्बिनी प्रदेश उपसभापति दुर्गा अर्याल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा युवाहरूले विभिन्न राजनीतिक दल परित्याग गरी रास्वपाको सदस्यता ग्रहण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश उपसभापति अर्यालले युवाहरूको बढ्दो आकर्षण र लोकप्रियताले पार्टीलाई थप मजबुत बनाउँदै लगेको बताउनुभयो । युवाहरूको सक्रिय सहभागिताले पार्टीको संगठन विस्तार र राजनीतिक यात्रालाई थप ऊर्जा मिल्ने उहाँको भनाइ थियो ।
जनमत पार्टी छाडेर रास्वपा रोज्नुभएका युवा नेता राहुल पाण्डेले युवाहरूलाई अवसर र नेतृत्वमा स्थान दिने पार्टीको सोचबाट प्रभावित भएर आफू रास्वपामा प्रवेश गरेको बताउनुभयो । युवाहरूको क्षमता र ऊर्जालाई सदुपयोग गर्ने वातावरण रास्वपामा देखेकाले पार्टी रोजेको उहाँले स्पष्ट पार्नुभयो ।
त्यस्तै, युवा नेता मिर्जा रासिद बेगले युवाहरूलाई लक्षित गरी पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको बताउनुभयो । युवाहरूको राजनीतिक सहभागिता बढाउँदै नयाँ नेतृत्व निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो ।
कृष्णनगरमा भएको यस पार्टी प्रवेश कार्यक्रमलाई रास्वपाले मधेसी समुदायका युवामाझ आफ्नो संगठन विस्तार गर्ने अभियानका रूपमा लिएको छ ।