Connect with us
Kapilvast Forest

निःशुल्क हिमाल चढ्न कसैकाे गएन चासाे

२०७९, ४ श्रावण बुधबारमा प्रकाशित

सुर्खेत- कर्णाली प्रदेशको पर्यटन समृद्धिसँग जोडिएको डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–९ मा अवस्थित काञ्जिरोवा हिमाल आरोहण गराउने प्रदेश सरकारको योजना अधुरो बनेको छ ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काञ्जिरोवा हिमाल आरोहण गराउने उद्देश्यले आर्थिक वर्ष २०७८–७९ मा दुई पटक सूचना प्रकाशित गरेको थियो । दुवै पटकको सूचनामा आरोहण गराउन कुनै पनि कम्पनीको आवेदन परेन ।

आरोहण दलमार्फत अन्तर्राष्ट्रियस्तरसम्म कर्णालीका हिमालको पहिचान गराउने उद्देश्यले मन्त्रालयले रुपियाँ ६० लाख बजेट विनियोजन गरेको थियो । अन्ततः निःशुल्क काञ्जिरोवा हिमाल चढ्न कुनै पनि पर्वतारोही कम्पनी तथा आरोहण दल तयार नहुँदा उक्त बजेट फिर्ता हुन पुग्यो । मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० मा पुनः यो कार्यक्रमलाई निरन्तरता दिएको छ ।

मन्त्रालयका सचिव मोहनदेव जोशीले एकातिर सगरमाथालगायत पूर्वतिरका हिमाल आरोहण गर्ने समय जुध्नु र अर्कोतिर हिमाल आरोहणलाई सार्वजनिक खरिद ऐन अनुसार वस्तु या सेवा कुन मान्नेमा परामर्शदाता अन्योलमा परेकाले काञ्जिरोवा हिमाल आरोहण गराउने प्रदेश सरकारको लक्ष्य पूरा हुन नसकेको बताउनुभयो ।

हामीले सार्वजनिक सूचनामा सेवामूलक भनेर उल्लेख गर्यौं तर पर्वतारोहणसम्बन्धी कम्पनीले यसलाई वस्तुका रुपमा प्रस्ताव खरिद गर्नु हुँदोरहेछ उहाँले भन्नुभयो काञ्जिरोवा हिमाल सगरमाथाजस्तो व्यवसायिक उडान भएको हिमालमा परेन त्यहाँको जस्तो फोहर पनि जम्मा हुँदैन त्यही भएर मन्त्रालयले वस्तु नभएर सेवाका रुपमा प्रस्ताव माग्यो आरोहण कार्यक्रमलाई वस्तु मान्न सकेनौँ जसले गर्दा प्रस्तावक आवेदनमै अन्याेलमा परे ।

डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–९ मा अवस्थित काञ्जिरोवा हिमाल छ हजार ८८३ मिटरमा उचाइमा छ । काञ्जिरोवा हिमालमा अहिलेसम्म व्यावसायिक आरोहण भएको छैन । ट्रेकिङ र पर्वतारोहणका लागि यो क्षेत्र निकै महत्वपूर्ण रहे पनि प्रचारप्रसारको अभावमा ओझेलमा छ ।

डोल्पामा समुद्री सतहबाट पाँच हजार मिटरभन्दा माथि १२ महिना हिउँले ढाकिने क्षेत्र पर्दछ । यहाँ छ हजार मिटर अग्ला धौलागिरि, चुरेन, पुथा हिमचुली, मुकोट हिमाल, डाँफे शैल अरनिको चुलीलगायत पर्दछन् ।

चालू आर्थिक वर्षमा यो कार्यक्रम सफल बनाएर कर्णाली हिमाल आरोहणलाई उपयुक्त छ भन्ने सन्देश दिन खोजिएको सचिव जोशीको भनाइ छ । कर्णालीका हिमालको पहिचान, विश्वमा प्रचारप्रसार हुने उद्देश्यका साथ यसवर्ष पनि निरन्तरता दिएका छौँ उहाँले भन्नुभयो हिमाल आरोहण खुला गर्दा पर्यटक भित्रिनुका साथै आम्दानीको स्रोत बढ्छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu