असुरक्षित सडकका कारण ज्यान गुमाउँदै : कर्णाली बासी
कर्णाली- प्रदेश सरकार गठन भएको पहिलो वर्षदेखि नै ०७४ फागुन प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम ल्याएको थियो । जसको मुख्य उद्देश्य कर्णाली राजमार्ग लगायतका अन्य सडकमा हुने सवारी दुर्घटना न्युनीकरण गर्नु थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अघि सारेको यो कार्यक्रम तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरुवात गरेका थिए ।सरकारका अन्य कार्यक्रमजस्तै सडक सुरक्षा कार्यक्रम पनि अलपत्र देखिएको छ ।
कार्यक्रम अन्तर्गत कर्णाली राजमार्ग २३२ किलोमिटर छिन्चु–जाजरकोट सडक १०७ किलोमिटर, सुर्खेत–दैलेख सदरमुकाम ६५ किलोमिटर र कपुरकोट–रुकुम सडक खण्ड लगायतका प्रमुख राजमार्गमा प्रहरीले गस्ती गर्ने जनाइएको थियो । तथापि सबै योजना कार्यान्वयन हुन सकेनन् ।
अहिले यिनै प्रमुख राजमार्गहरुले बर्सेनि कयौं नागरिकको अकालमै ज्यान लिइरहेका छन् । गत जेठ ११ गते कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबीस नगरपालिका–२ को सिस्नेमा भएको बस दुर्घटनामा परी चार जनाले ज्यान गुमाए ।
मुगु, कालिकोट हुँदै नेपालगन्जतर्फ जाँदै गरेको म१ख ६६० नम्बरको उक्त बस कर्णाली राजमार्गबाट झण्डै ४३ मिटर तल कर्णाली नदीको छेउमा खसेको थियो । दुर्घटनामा ३९ जना घाइते भए । बसमा ६० जनाभन्दा बढी यात्री सवार थिए ।
०७८ असोज २६ गते दसैँको समयमा नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भयो ।
२४ जनाको घटनास्थलमै, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।बस सडकभन्दा ३०० मिटर तल खसेको थियो भने बसमा ४५ जना सवार थिए ।
जसमध्ये धेरैजसो वैदेशिक रोजगारीको सिलसिलामा कालापहाड गएर दसैँ मनाउन फर्किएकाहरु थिए । एक वर्षको अवधिमा कर्णाली राजमार्ग अन्तर्गत घटेका यी ठुला दुई दुर्घटना हुन् । अन्य साना सवारी साधन, मालबाहक ट्रक र हाईस दुर्घटना कति भए भन्नेबारे प्रहरीले छुट्टै तथ्याङ्क राखेको छैन ।

०७८ कात्तिक २१ गते सुर्खेत–जाजरकोट सडक अन्तर्गत सल्यानमा भएको बस दुर्घटनामा परी १२ जनाको मृत्यु भयो । ८ जनाको घटनास्थलमै ज्यान गएको थियो भने चार जनाको उपचारको क्रममा मृत्यु भयो । ३१ जना सवार बसमा १९ जना घाइते भए ।
कर्णालीको आर्थिक समृद्धिसँग जोडिएका यी मुख्य सडकमा यसरी नागरिकले ज्यान गुमाइरहेका छन्, तर सरकारी निकायले सडक सुरक्षालाई प्राथमिकतामा राखेको छैन । माथिका त केही उदाहरण मात्रै हुन्, आर्थिक वर्ष ०७८÷०७९ मा कर्णालीमा भएको सवारी दुर्घटनामा १८० जनाले ज्यान गुमाएका छन् ।
प्रहरीको तथ्याङ्क अनुसार सुर्खेतमा २८, सल्यानमा ३६ जनाले गत आर्थिक वर्ष दुर्घटनामा ज्यान गुमाएका छन् । यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै ४०३ वटा सवारी साधन दुर्घटनामा परेका छन् । दुर्घटनामा परी ५८८ जना सामान्य घाइते र ३६२ जना गम्भीर घाइते भएका छन् ।
प्रदेश ट्राफिक प्रमुख प्रहरी निरीक्षक भुवनेश्वर तिवारी सवारी दुर्घटनामा कमी आउन नसकेको बताउँछन् ।चार वर्षमा ४९४ जनाले गुमाए ज्यानप्रदेश ट्राफिक कार्यालयका अनुसार ०७५ देखि ०७९ असार मसान्तसम्म सवारी दुर्घटनामा परी ४९४ जनाले ज्यान गुमाएका छन् ।
यो अवधिमा एक हजार ७६ वटा सवारी साधन दुर्घटनामा परेका छन् । सवारी दुर्घटनामा ९८६ जना गम्भीर घाइते भएका छन् ।मुख्य सडक नै जोखियुक्त कर्णालीका सुर्खेत–जुम्ला, सुर्खेत–दैलेख, छिन्चु–जाजरकोट, सल्यान–रुकुम र मध्यपहाडी राजमार्ग मुख्य सडक हुन् ।
कर्णाली आफैमा सडक सुरक्षाको दृष्टिले ज्यादै समवेदनशील र जोखिमयुक्त छन् । वर्षौंदेखि राज्यबाट प्रताडित तथा यातायातबाट विमुख कर्णालीवासीका लागि ०६३ सालदेखि सञ्चालमा आएको कर्णाली राजमार्गले जति गौरव महसुस गराएको छ, उत्तिकै सास्ती पनि दिँदै आएको छ ।
कर्णाली राजमार्गलाई कतिपयले त मृत्यु मार्गको उपमा दिने गरेका छन् ।काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटा भन्छन्, ‘कर्णाली राजमार्ग मृत्युमार्ग बन्दा पनि राज्यले ध्यान दिएन । सडक विभागको मापदण्ड अनुसार यो सडक निर्माण नहुँदा दुर्घटनाको जोखिम बढी छ ।
ट्राफिक प्रमुख तिवारीका अनुसार ग्रामीण सडकहरुमा पनि सवारी दुर्घटना बढिरहेका छन् । यातायात व्यवसायी सापकोटा कमजोर सडक सुरक्षा र चालकको लापरबाहीका कारण दुर्घटना बढ्ने गरेको बताउँछन् ।
अत्यधिक गतिमा सवारी चलाउने, ओभरटेक गर्ने र लामो रुटमा एउटै चालक हुनु र ओभर लोडका कारण सवारी दुर्घटना बढिरहेको उनको भनाइ छ ।ट्राफिक कार्यालयले भने विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
तथापि त्यसको मनोवैज्ञानिक प्रभाव भने परेको देखिँदैन । प्रहरी उपरीक्षक तिवारीले दुर्घटनाको उच्च जोखिममा रहेका सडकमा टाइम कार्ड लागु गरिने बताए ।सडक निर्माण प्राथमिकतामा, सुरक्षामा बेवास्ता सडक सञ्जाल बनाउनका लागि स्थानीय पालिका, प्रदेश हुँदै संघ सरकारले पहिलो प्राथमिकता दिँदै आएका छन् ।
यद्यपि सडक निर्माणमा जति प्राथमिकता दिइन्छ, त्यत्तिकै सडकको सुरक्षा प्राथमिकता देखिँदैन ।स्थानीय पालिकाहरु कुनै वातावरणीय मूल्यांकनको परवाह नै नगरी डोजर आतंक चलाइरहेका छन् । जसले गर्दा पर्यावरणीय क्षति त हुन्छ नै, सडकमा पहिरोको उच्च जोखिम हुने गर्दछ ।
सडक सुरक्षा विज्ञ एवं मध्यपश्चिम विश्वविद्यालयकका उपप्राध्यापक त्रिलोक विष्ट सडकको गुणस्तर, सडकको सुरक्षासम्बद्ध समस्याका बारेमा सरकार गम्भीर नबनेको बताउँछन् ।उनले भने कर्णाली जस्तो भूभाग भएको ठाउँको सबै ठाउँमा सडक पुर्याउँछु भन्नु मूर्खता हो, त्यो भन्दा पहिला बस्ती विकास हुन जरुरी छ ।
सडक बनाइए पनि सुरक्षित बनाइँदैन, असुरक्षित सडकले मान्छेको ज्यान लिने काममात्र गर्छ ।’ उनी सडक दुर्घटनामा कमी ल्याउनका लागि सवारी चालक, सवारी साधन र सडकको वर्तमान अवस्थालाई सुधार्नुपर्ने बताउँछन् ।