गठबन्धनभित्र सिट बाँडफाँटमा सकस , आज पुन: बैठक बस्दै
काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनको आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि बनेको सिट बाँडफाँट समिति बैठक आज पनि बस्दैछ। आइतबार बसेको बैठकले छिट्टै सिट बाँडफाँट टुङ्याउने भन्दै बैठक आजका पुन: बोलाएको थियो।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गर्न निर्देशनसमेत दिएको छ।
बैठकले गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी छलफल अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे ।
गठबन्धनको कार्यदलको बैठक आज दिउँसो १ बजे बस्ने र लगातार बैठक बसेर सहमतिका साथ दुई दिनभित्र सबै विषय शीर्ष नेतृत्वसमक्ष पेस गर्ने कार्कीको भनाइ छ।
प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रमा कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे बैठकमा छलफल भइरहेको छ। आफूले दाबी गरेकोभन्दा गठबन्धन आवद्ध दलले सिट संख्या घट्नुपर्ने भएकोले भागबन्डा मिलिसकेको छैन।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता थियो।