असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडौ- दशैँका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ् खुल्ने भएको छ। बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलका क्रममा असोज १ गतेदेखि बुकिङ खोल्ने निर्णय भएको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो।
टिकट बुकिङलाई अनलाइन प्रणालीबाट र उपत्यकाका विभिन्न ठाउँमा बुथ बनाएर टिकट बिक्री गर्ने योजना बनाएको उहाँले सुनाउनुभयो।
सिटौलाले भन्नुभयो, ‘अग्रिम टिकट बुकिङका लागि सेवाग्राहीलाई सहजता होस् भनेर अनलाइन टिकट बुकिङ् र उपत्यकाका विभिन्न ठाउँमा बुथ बनाएर टिकट बिक्री गर्ने निर्णय भएको छ। तर, महानगरले बुथ राख्ने ठाउँ अहिले डोजरले भत्काएकाले त्यसलाई चाँडै निर्माण गरेर सञ्चालन गर्ने योजना छ। ’
यस्तै यातायात आवागमनमा सहजता बनाउन अत्यावश्यक बाहेकका मालवाहक सवारी असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म सञ्चालनमा रोक लगाउने निर्णय भएको छ।