चितवन: ‘कतै नजाने पुल’ बनाउन साढे ८ करोड
चितवन-चितवनको रत्ननगर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको कयर खोला पुलनजिकै बेल्सीबाट दक्षिणतर्फ लागेपछि हाजीपुर गाउँ आउँछ। करिब एक किलोमिटर साँघुरो कालोपत्रे सडक सकिएपछि कच्ची बाटो सुरू हुन्छ।
करिब पाँच सय मिटर अघि बढेपछि त्यो बाटो पनि सकिन्छ। त्यहाँबाट पाँच सय मिटरभन्दा बढी खेत कटेपछि बुढी राप्ती खोला देखिन्छ। यो खोलामा बन्दै गरेको एउटा पुल छ।
सामान्यतया मान्छेको सुविधाका लागि भौतिक पूर्वाधार निर्माण गरिन्छन्। यसका लागि राज्यले लगानी गर्छ। तर करोडौं रूपैयाँ खर्चिएर बनाइएको यो पुलबारे स्थानीयलाई अत्तोपत्तो छैन। स्थानीयबासी मात्रै नभएर स्थानीय तहसमेत यो संरचनाको विषयमा बेखबर छ।
केही समयअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले पनि यो पुल अवलोकन गरेका थिए।
अवलोकनपछि फेसबुकमा फोटो राख्दै उनले लेखेका थिए, ‘कतै नजाने पुल! पूर्वी चितवनको बुढी राप्ती खोलाको यो पुल कसरी यहाँ बन्यो, कसले बनायो, स्थानीयलाई थाहा छैन। सडक पनि जोडिएका छैनन्। यहाँबाट एक–डेढ किलोमिटरको दुरीमा नै दुई–तीन वटा अरू पुल छन्। अन्य विकासका काममा जस लिन होडबाजी गर्नेहरू पनि यो पुल आफूले बनाएको भनेर जस लिन खोज्दैनन्।’
सोमबार दिउँसो हामी पुग्दा पुलमुनि बनाइएको खाटमा बसेर टोलाइरहेका थिए रत्ननगर नगरपालिका–३ का ६७ वर्षीय जनु महतो। उनी यो पुलका संरक्षक हुन्।
पुल निर्माण ठेक्का पाएको कम्पनी लोहनी एन्ड ब्रदर्स कन्स्ट्रक्सनले आफूलाई पुल हेरचाहको जिम्मा दिएको उनले बताए। २०७६ साल साउनबाट यो पुल र निर्माण सामग्री हेरचाहको काम गर्दै आएका छन् उनी।
‘पोहोर दसैंअघि घर गएका मान्छेहरू कोही फर्केर आएनन्। न साहु आए न मजदुर। तै पनि म आफ्नो जिम्मा पूरा गर्दैछु,’ जनु महतोले भने, ‘महिनाको पन्ध्र हजार रूपैयाँ तलब दिन्थे। दुई लाख रूपैयाँभन्दा बढी पाउनु पर्नेछ। तलब लिएर आऊलान् भन्ने आशमा साहुको बाटो हेरिरहेको छु।’
रत्ननगरको हाजीपुरको पारि खैरहनी नगरपालिकाको वडा नम्बर ५ पर्छ। पारि पनि वारि जस्तै करिब ५ सय मिटर नम्बरी जमिन कटेपछि बल्ल साँघुरो कच्ची सडक भेटिन्छ। त्यो सडक कटेर एक किलोमिटर जति पर पुगेपछि थारू समुदायको बसोबास रहेको गाउँहरू फसेरा, फसेर्नी पुगिन्छ। त्यहाँ १२५ भन्दा बढी परिवार बस्छन्।
सभारः सेतोपाटी