Connect with us
Kapilvast Forest

एक महिनादेखि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प

२०७९, १० माघ मंगलवारमा प्रकाशित

बुटवल- हुस्सुको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट गत पुस ६ (२१ डिसेम्बर) देखि अन्तर्राष्ट्रिय उडान ठप्प छ । ४३ अर्ब लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको ६ महिनामै सेवा बन्द हुँदा विमानस्थलको मात्र नभई राष्ट्रकै हवाई सेवाबारे विश्व बजारमा नकारात्मक सन्देश गएको भन्दै निजी क्षेत्रका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।

गत जेठ दुई गते विमानस्थल उद्घाटन भएसँगै कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । मौसमको कारण देखाउँदै गत २१ डिसेम्बरदेखि जजिराले आफ्नो उडान रोकेको छ । कात्तिक १७ देखि चार्टर्ड उडान सुरु गरेको हिमालय एयरलाइन्सले पनि १६ डिसेम्बरदेखि उडान रोकेको छ ।

निजी क्षेत्रका एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि रुपन्देहीका निजी क्षेत्रका अगुवा संस्थाहरुले राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सबाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्न माग गरेका छन् । निजी क्षेत्रका विमानले उडान बन्द गरे पनि सरकारी स्वामित्वको विमानले उडान भरेर विमानस्थलको शाख जोगाउनुपर्ने व्यवसायीको माग छ ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष भिष्म न्यौपानेले सरकारी बेवास्ताले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बन्द हुन पुगेको बताए । यो विमानस्थलमा जनताले तिरेको करको ठूलो हिस्सा लगानी भएको छ तर सञ्चालनमा आएको केही महिनामै मौसमलाई कारण देखाएर अन्तर्राष्ट्रिय उडान झण्डै डेढ महिनासम्म बन्द हुनु सरकारको लाचारीपन हो न्यौपानेले भने विदेशी एयरलाइन्सले बन्द गरेपनि राष्ट्र र विमानस्थलको शाख जोगाउन नेपाल एयरलाइन्सले उडान नियमित गर्नुपर्दथ्यो, त्यो नहुनु दु:खद् छ ।

गौतमबुद्ध विमानस्थल व्यवस्थापनले मौसमको कारण उडान बन्द गर्नुपरेको र छिटै पुनः अन्तर्राष्ट्रिय उडान सुरु हुने बताए पनि निजी क्षेत्र विश्वस्त छैनन् । भारतसँग सरकारी तहबाट (जीटुजी) वार्ता गरेर हवाई रुटको लिखित सहमति लिन ढिलाइ गर्न नहुने उनले औंल्याए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत बुद्ध जयन्तीमा लुम्बिनीमा आएका बेला होटेल पवन प्यालेसमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको वान टु वान भेटवार्तामा गौतमबुद्ध विमानस्थललाई हवाई रुट दिन भारत तयार रहेको बताएका थिए । तर मोदीको उक्त प्रतिवद्धतालाई सरकार र कर्मचारी प्रशासनले प्राथमिकताका साथ ‘फलोअप’ नगर्दा हवाई रुटको अनुमति पाउन नसकिएको न्यौपानेले बताए ।

चेम्बर अफ कमर्स रुपन्देहीले जिल्लाका दुई दर्जन बढी निजी क्षेत्रका संघसंस्थाहरुसँग छलफल गरी तत्काल सरकारी स्वामित्वको नेपाल एयरलाइन्सबाट उडान सुरु गर्न माग गर्दै अर्थमन्त्री विष्णु पौडेलसमक्ष संयुक्त ज्ञापनपत्र बुझाएको छ ।

विमानस्थललाई लक्षित गरेर भैरहवा र आसपासमा निजी क्षेत्रले आधा दर्जन पाँच तारेसहित दर्जनौं होटेलमा अर्बौं लगानी गरेकाले अन्तर्राष्ट्रिय उडान बन्द हुँदा पर्यटन क्षेत्रमा निराशा छाएको अध्यक्ष अनिल ज्ञवालीले बताए । विमानस्थललाई लक्षित गरेर पर्यटन क्षेत्रमा मात्रै २० देखि ३० अर्बको लगानी भएको उनको दाबी छ ।

अन्तर्राष्ट्रिय उडान नियमित गराउन र थप एयरलाइन्सलाई आकर्षित गर्न भारतसँग हवाई रुटसँगै वैदेशिक रोजगारीमा जाने नेपालीहरुको श्रम र भीसा स्वीकृति र स्वास्थ्य परीक्षण गर्ने कार्यालय विमानस्थलमै छिटो स्थापना गर्न सरकारले प्राथमिकतामा राख्नुपर्ने ज्ञवालीले बताए ।

पर्यटन व्यवसायी सञ्जय बजिमय हवाई रुट अनुमतिसँगै भारतीय नागरिकलाई गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न नो अब्जेक्सन लेटर (एनओसी) को व्यवस्थाका लागि पहल गर्न पनि सरकार चुकेको बताउँछन् ।

भारतीय नागरिकलाई नो अब्जेक्सन लेटरको व्यवस्था गराउन भारतलाई सहमत गराउन सक्दा हवाई रुट दिन पनि भारत तयार हुने वजिमयको तर्क छ ।

विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्याण्ड सिस्टम (आइएलएस) जडान भए पनि यसबारे पनि भारतसँग लिखित सहमति नहुँदा अन्तर्राष्ट्रिय बजारमा नेपालले आइएलएस अपरेसनमा आएको छ भन्न र प्रचार गर्न नमिलेको वजिमयले बताए । होटेल व्यवसायी गोपाल राना सरकारले अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई आकषिर्त गर्न प्रभावकारी पहल नगरेको गुनासो गर्छन् ।

एक दुई वटा एअरलाइन्सले वैदेशिक रोजगारीमा जाने नेपालीलाई लैजाने र ल्याउने गरेर मात्रै विमानस्थल चलेको मान्न सकिंदैन,’ रानाले भने, ‘बौद्धमार्गीहरु भएका देशहरुसँग कनेक्टिभिटी बढाएर गुणस्तरीय पर्यटक भित्र्याउन सकेमात्रै विमानस्थल दिगोरुपमा चल्छ र पर्यटन व्यवसायले पनि लाभ लिन सक्छ ।

रुपन्देही नागरिक समाजका अध्यक्ष ईश्वरी चापागाईंले चुनावका बेला सबैजसो दलका उम्मेदवारहरुले विमानस्थललाई फुलफेजमा संचालन गर्ने वाचा गरेका तर अन्तर्राष्ट्रिय उडान एक महिना बढी बन्द हुँदा राष्ट्रिय ध्वजावाहक विमानबाट उडान सुरु गर्न निर्वाचित सांसदहरुले कुनै पहल नगरेको गुनासो गर्छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu