समयमै मल उपलब्ध गराउने कार्य योजना पेश गर्न मन्त्रालयलाई निर्देशन
काठमाडौं- दिगो विकास तथा सुशासन समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई समयमै मल उपलब्ध गराउने कार्य योजना पेश गर्न निर्देशन दिएको छ । समितिले किसानहरुलाई कृषि मल समयमा नै उपलब्ध गराउने सुनिश्चितताका सम्बन्धमा मन्त्रालयको कार्य योजनासहित समितिको अर्को बैठकमा उपस्थितिका लागि मन्त्रालय लाई निर्देशन दिएको हो । समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो ।
किसानहरुलाई कृषि मल एवम् बीउविजन समयमा नै उपलब्ध गराउने सुनिश्चितता सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सरोकारवालसँग छलफल तथा विविध कार्यसूचीमा समितिका सदस्य प्रतिनिधि सभाका सदस्य राष्ट्रिय किसान आयोग, कृषि सामग्री कम्पनी लिमिटेड साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र सरोकारवाला एवम् विज्ञहरुको सहभागितामा छलफल भएको थियो ।