पर्यटन प्रवर्धन गर्न तानसेनमा फुड फेस्टिवल आयोजना हुने
तानसेन- पाल्पाको पर्यटकीय नगरी तानसेनमा फूड फेस्टिवल हुनेभएको छ । तानसेन नगरपालिका –४ मखनटोलको आयोजनामा माघ २० गते फूड फेस्टिवल हुनेछ ।
संयोजक प्रविता शाक्यले कोरोना महामारीपछि गति लिन थालेको पाल्पाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउन फेस्टिवल आयोजना गरिएको बताउनुभयो । शाक्यले तानसेनको व्यापारमा केही राहत मिलोस् भन्ने उद्देश्यले फेष्टिबल आयोजना गर्न लागिएको हो ।
फेस्टिवलमा स्थानीय स्वदेशी तथा विदेशी खानाको परिकार राखिने आयोजकले जनाएको छ । फेस्टिवल स्थानीय कला संस्कृति भेसभूषाको जगेर्नामा केन्द्रित रहने बताइएको छ । यो संस्करणको मुख्य आकर्षणमा विभिन्न जातजाति आमा समूह लगायत अन्य संघ संस्थाको पोशाक तथा कला प्रदर्शन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो ।
फेस्टिवलमा विभिन्न जातजातिको खानाका परिकारको ७० स्टल राखिने तानसेन नगरपालिका –४ का अध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो । एक स्टलको १५ सय रुपियाँ शुल्क लाग्नेछ । सडक किनारमा पर्यटक बसेर परिकारमा रमाउने व्यवस्था गरिने आयोजकको भनाइ छ ।
कोरोना महामारी अन्त्य भएपछि पाल्पामा स्वदेशीसहित विदेशी पर्यटक पनि आउनथालेको भन्दै उहाँले फेस्टिवलले पर्यटन प्रवर्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो सन्देश प्रवाह गर्ने बताउनुभयो ।