हुलाकी निर्माणमा ढिलाई, ३ बर्षमा ३५ प्रतिशत मात्रै काम
कपिलवस्तु-
कपिलवस्तुको हुलाकी सडक निर्माणमा ठेकेदार पक्षले ढिलाई गरेको छ । समयमा सडक निर्माण नहुदाँ यात्रुलाई आवतजावतमा सास्ती खेप्नु परेको छ । निर्माण कम्पनी लामा गोल्डेन गुड शिवशक्ति जेभीले ठेक्का पाएको सडक तिन बर्षमा ३५ प्रतिशत मात्रै काम गरेको छ । जिल्लाको राजपुर देखी दत्तपुर सम्मको सडक निर्माणमा भएको ढिलाईले गर्दा यात्रुहरु आजित भएका छन ।
२०७६ कार्तिक २९ गते सम्झौता भई २०७९ कार्तिक २९ गते सम्म सम्पन्न गर्नु पर्ने सम्झौता भएपनि ठेकेदार पक्षको कमी कमजोरीका कारण निर्माणमा ढिलाई भएको स्थानिय अकुंश श्रीवस्तावले बताउनुभयो । एकै समयमा ठेक्का लिएका सो मार्गको अन्य सडकखण्डको काम अन्य निर्माण व्यवसायीले पुरा गर्न थाले पनि सो ठेक्कामा हाल सम्म ३५ प्रतिशत मात्रै काम पुरा भएको हो ।
राजपुर देखी दत्तपुर सम्मको १७ किलोमिटर सडक निर्माणको ठेक्का हुलाकी राजमार्ग आयोजना निर्देशनालय सँग सम्झौता गरि लामा गोल्डेन गुड शिवशक्ति जेभीले लिएको हो ।
नियमनकारी निकायले चासो नदिदाँ र ठेकेदार कम्पनीले समयमै काम नगर्दा आफुहरुले सास्ती खेप्नु परेको स्थानियको गुनासो छ । कोभिड संक्रमण सहित अन्य समस्या देखाउदै तोकिएको अबधीमा निर्माण पुरा नभएको भ्याट सहित ६८ करोड ६२ लाख ९१ हजार ६ सय २४ रुपैयाको लागत सम्झौताको सो ठेक्काको म्याद एक बर्ष थप भएको थियो ।
थपिएको म्यादमा समेत निर्माण कार्य दु्रत रुपमा अगाडी बढ्न नसके पछि यात्रुले सास्ती खेप्नु पर्दै आएको बहादुरगंजका अशोक गुप्ताले बताउनुभयो । ठाँउ ठाँउमा बनाउन थालेको कलभर्ट आधैमा छोडिदा र कतिपयस्थानमा सबवेसको काम समेत पुरा नहुदाँ सो मार्गमा हिड्ने नागरिकले धुलो र दुर्घटना सहितको बिभिन्न सास्ती खेप्दै आएका छन ।
हाल सम्म सो ठेक्कामा ८ वटा कल्भर्ट निर्माण, ६ किलोमिटरमा माटो फिलिङ्ग, ६÷६ किलोमिटरमा सव वेस र वेसको काम तथा साढे १५ किलोमिटर अस्फाल्टको काम बाकी रहेको निर्माण व्यवासायी कम्पनीका ईन्जिनियर साकिर आलमले जानकारी दिनुभयो ।
ईन्जिनियर आलम भन्नुहुन्छ “हाल सम्म ८० प्रतिशत निर्माण पुरा हुनु पर्ने हो तर कम्पनीबाट समयमै भुक्तानी नहुदाँ काममा ढिलाई भएको हो । ”
कोभिडको संक्रमणका कारण निर्माण पुरा हुन नसकेको र हाल सम्म निर्माण कार्यमा ३५ प्रतिशत भौतिक प्रगती भएको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख ईन्जिनियर बिष्णु पाण्डेले बताउनुभयो । उहाले भन्नुभयो “कोभीड संक्रमण पछि निर्माण व्यवसायीलाई निर्माण द्रुत गतिमा अगाडी बढाउन पटक पटक ताकेता गर्दै आएका छौ ।”
हुलाकी सडक अन्तरगत लुम्बिनी देखी कपिलवस्तुको तौलिहवा सम्म पहिलो चरणको सडक निर्माण भएको थियो । तौलिहवा देखी राजपुर सम्म र दत्तपुर देखी विजयनगर गाँउपालिका सम्म सडक निर्माण अन्तीम चरणमा पुगेको छ ।