बाँके प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा
लुम्बिनी प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्लाका रुपमा बाँके जिल्लालाई घोषित गरिएको छ। लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले बिहीबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरेर जिल्लालाई प्रदेशमै पहिलो जिल्ला पूर्ण खोप सुनिश्चित जिल्लाका रुपमा घोषणा गरिएको हो।
आर्थिक वर्ष २०७९/०८० मा बाँकेका आठ वटै पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपछि बाँके पहिलो पूर्णखोप सुनिश्चित जिल्लाका रुपमा घोषणा भएको हो।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले बाँकेलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्दै मातृ तथा शिशु मृत्युदर कम गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।
उहाँले जसरी पूर्ण खोप अभियानलाई सफल पारियो त्यसैगरी मृत्युदरमा कमी ल्याउन पनि सबैको सक्रियता आवश्यक रहेको बताउनुभयो। मन्त्री खनालले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार गम्भीर रहेको जनाउँदै पूर्ण खोपको दिगोपना कायम राख्न अनुगमन निरन्तर गरिरहन आग्रह गर्नुभयो।