भूकम्पमा घाइते भएकाको उपचार सरकारले निःशुल्क गर्छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परेर घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने बताउनुभएको छ । शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिनुहुँदै आवश्यकता अनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताउनुभयो ।
मन्त्री बस्नेतले भन्नुभयो, ‘‘त्यही उपचार गर्नु पर्ने घाइतेहरुको उपचार त्यही गर्छौ । त्यहाँ उपचार सम्भव नहुनेलाई हेलिकोप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्छौ । उपचारमा कुनै कमि हुने छैन ।’’
मन्त्री बस्नेतले आफू स्वास्थ्य मन्त्री भएदेखि नै पैसाको अभावमा कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्दैन भन्दै आइरहेकाले प्राकृतिक विपत्तिका बेला पनि सरकारले उपचारमा कुनै कमि नगर्ने दाबी गर्नुभयो ।
मन्त्री बस्नेतले जाजरकोट र रुकुममाको अवस्था हेरेर उपचारमा लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयका विज्ञहरुसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिनुभयो ।