Connect with us
Kapilvast Forest

सिद्धबाबा सुरुङका लागि १० अर्ब

२०७६, ३ मंसिर मंगलवारमा प्रकाशित

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा सुरुङमार्ग बनाउन बजेट सुनिश्चित भएको छ। ‘मृत्यु मार्ग’का रुपमा चिनिने यो सडक पहिरोको उच्च जोखिमपूर्ण क्षेत्र हो। जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउन संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रक्रिया थालेको थियो।

सुरुङ मार्ग निर्माण गर्न अर्थ मन्त्रालयले १० अर्ब १५ करोड बजेटको सुनिश्चितता दिएको छ। मंसिर १ को अर्थमन्त्रीस्तरीय बैठकले सुरुङका लागि बहुवर्षीय योजनामा काम गर्ने गरी बजेट स्वीकृति दिएको हो। बजेटको सुनिश्चिततासँगै केही दिनभित्रै निर्माण कम्पनी छनोटका लागि टेन्डर आह्वानको तयारी भइरहेको सडक विभागले जनाएको छ।

विभागका महानिर्देशक केशव शर्माले यसै वर्ष निर्माण सुरु हुने बताए। ‘एकाध महिनाभित्र ग्लोबल टेन्डर आह्वान गर्छौं, आर्थिक वर्षभित्रै निर्माण सुरु हुनेछ,’ उनले भने। सुरुङमार्ग साढे दुई वर्षभित्र बनाइसक्ने योजना छ।

सिद्धबाबामा सुरुङ मार्ग बनाउने विषयमा केही वर्षयता बहस भइरहेको थियो। लुम्बिनी–पोखरा जोड्ने महत्त्वपूर्ण सडक भएकाले सुरुङ नै समस्याको समाधान भएकाले निर्माण प्रक्रिया थालिएको हो। प्रतिनिधिसभाका सांसद विष्णु पौडेलले सुरुङ मार्गसँगै डबल लेनको सडकसमेत निर्माण हुने बताउँछन्। ‘सुनौली–कोरला सडकको दीर्घकालीन सोचसहित सिद्धबाबामा सुरुङ बनाउने निष्कर्ष निकालिएको हो,’ उनले भने।

रुपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबा क्षेत्रमा स्विस सरकार विकास सहयोगमार्फत सुरुङ मार्गको भौगर्भिक अध्ययन गरिएको थियो। ड्रिलिप नेपालले प्लानेट टेस्ट प्रालिमार्फत गरेको अध्ययनले सुरुङ मार्ग बनाउन सकिने प्रतिवेदन दिएको थियो।

सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट सुरु हुनेछ। चिडियाखोला खोंचबाट सुरु हुने सुरुङ दोभाननजिकै रामापिथेकस पार्कको उत्तरतर्फ निस्कनेछ। यो करिब ११ सय मिटरको हुने अनुमान छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu