बजेटले अर्थतन्त्रलाई थप गति दिन्छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई थप गति दिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले अर्थतन्त्रलाई लयमा अगाडि बढाउन र निजी क्षेत्रलाई विश्वासको वातावरण बनाउन बजेटले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्रको लय पकड्ने छ”, अर्थमन्त्री पुनले भन्नुभयो, “अर्थतन्त्रका सबै क्षेत्रलाई सँगसँगै अगाडि बढाएर देशको अर्थतन्त्रलाई गतिशील बनाउने सरकारको सोच छ ।” उहाँले सरकारी र सार्वजनिक क्षेत्रको गुणस्तरीय पूर्वाधार निर्माण गर्न निजी क्षेत्रको लगानी प्रोत्साहनलाई प्राथमिकता दिएको बताउनुभयो ।