भूमि समस्या समाधानका लागि सरकार प्रतिबद्ध छ: मन्त्री अधिकारी
सनिउल्ला धोबी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले देशभरि रहेका भूमि समस्या समाधानका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ । कपिलवस्तु सहित विभिन्न जिल्लामा रहेका बाल विटौरी, गाउँब्लक जग्गा र डिहजग्गा सम्बन्धी समस्याहरूलाई समाधान गर्न कानूनी प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो ।
मन्त्री अधिकारीले कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आइतबार आयोजित भेटघाट तथा अन्तरक्रीया कार्यक्रममा बोल्दै भूमि समस्याको समाधानका लागि नयाँ ऐन निर्माणको काम भइरहेको जानकारी दिनुभयो । उहाँले भूमि विवादले पीडित नागरिकहरूलाई तत्काल राहत दिन सरकारले तदारुकता देखाएको उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ताले कृष्णनगर क्षेत्रको विकासका लागि भूमि समस्या समाधान गर्न संसदमा कुरा उठाएको बताउनु भयो । उहाँले आफ्नो संसदीय कोषको बजेट विकासका कामहरूमा खर्च गरिएको पनि जानकारी दिनुभयो ।
पूर्व प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले भूमि समस्या समाधान नहुँदा स्थानीय नागरिकहरूमा प्रत्यक्ष असर परेको भन्दै समस्या तत्काल समाधान गर्न मन्त्री अधिकारीसँग अनुरोध गर्नुभयो । उहाँले भन्नु भयो, “मन्त्री परिषदबाट यस समस्याको समाधानका लागि पहल गरियोस् भन्ने हाम्रो अनुरोध छ, हामी विश्वास गर्छौं कि यो समस्या चाँडै समाधान हुनेछ ।”
कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले भूमि समस्याको समाधान नभए राजधानी काठमाडौँमा धर्ना दिने चेतावनी दिनुभयो । नगर प्रमुख शाहले भन्नु भयो, “यहाँका उद्योगी, व्यापारीहरूले आफ्नो जग्गा उपभोग गर्न पाएका छैनन्, बैंकिङ कारोबारसमेत ठप्प छ, यसको छिटो निकास निकाल्नु आवश्यक छ ।”
कार्यक्रममा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले भूमि समस्या समाधानको दीर्घकालीन समाधानको खाँचो औंल्याउँदै भन्नु भयो, “जग्गा सम्बन्धी समस्या यथाशीघ्र समाधान गरिनुपर्छ, अन्यथा यसले हाम्रो गाउँपालिकाको विकासलाई थप चुनौतीहरू थप्नेछ ।” उहाँले सरकारसँग ठोस कदम चाल्न अनुरोध गर्नुभयो ।
समाजसेवी सुशील श्रीवास्तवले स्थानीय जनताको भूमि अधिकारको सवालमा जोड दिँदै भन्नु भयो, “जग्गा समस्या समाधान नगरेसम्म यहाँका नागरिकहरूले आफ्नो सम्पत्ति प्रयोग गर्न पाउने छैनन्, जसले आर्थिक गतिविधिमा गम्भीर असर पुर्याइरहेको छ ।”
अकिल मियाले आफ्नो धारणा राख्दै भन्नु भयो, “यहाँका किसान र स्थानीय व्यापारीहरू भूमि समस्या समाधानको पर्खाइमा छन् । यो समस्या नहटेसम्म आर्थिक समृद्धिको ढोका खोलिँदैन ।”
ब्रम्हानन्द उपाध्यायले जग्गाको कागजात नहुँदा आम जनतामा असुरक्षा पैदा भएको उल्लेख गर्दै भन्नु भयो, “नागरिकहरू आफ्नो हकको जग्गा सुरक्षित रूपमा उपभोग गर्न पाउने दिन आउनु आवश्यक छ ।”
मुक्तेश्वर मिश्राले सरकारसँग आग्रह गर्दै भन्नु भयो, “यो भूमि विवादको समाधान तत्काल आवश्यक छ । यहाँका जनतालाई दिनहुँ आफ्नो सम्पत्तिको सुरक्षाको चिन्ता गर्नुपरेको छ ।”
राम कुमार गुप्ताले स्थानीय जनताको प्रतिनिधित्व गर्दै भन्नु भयो, “जग्गा समस्या समाधान नहुँदा विकासका कामहरू ठप्प छन् । यो समस्या समाधान नगरिएसम्म यहाँको समग्र विकासमा अवरोध कायम रहनेछ ।”
शिव प्रसाद जयसवालले समस्या समाधान गर्न सरकारलाई दबाब दिनु पर्नेमा जोड दिँदै भन्नु भयो, “यहाँका नागरिकहरूले लामो समयदेखि भूमि समस्या झेलिरहेका छन् । यो समस्याको तत्काल समाधान नहुँदा आर्थिक र सामाजिक विकासमा ठूलो बाधा आएको छ ।”
कुनाल प्रताप शाहले भन्नु भयो, “जग्गा सम्बन्धी समस्या समाधान भएपछि मात्र हाम्रो क्षेत्रको समग्र विकास सम्भव छ । यसैले यो समस्यालाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।”
मौलाना मकसुद खानले भूमि समस्या समाधान नभएसम्म नागरिकहरूले शान्ति र समृद्धिको अनुभव गर्न नसक्ने बताएका छन् । उहाँले भन्नु भयो, “नागरिकहरू जग्गा विवादले प्रभावित भएका छन्, र यसले उनीहरूको आर्थिक स्वतन्त्रता हरण गरेको छ । सरकारको ध्यान यसतर्फ जान आवश्यक छ ।”
कार्यक्रममा कृष्णनगर नगरपालिका वडा अध्यक्षहरु, स्थानीय समाजसेवी, भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।