कपिलवस्तुको त्रिभुवन आदर्शमा लगाइएको ताला खुल्यो
कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ६ स्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा विद्यार्थीहरूले लगाएको ताला आज खुलेको छ । वडा अध्यक्ष महेताब आलम खाँको पहलमा विद्यार्थीहरूबीच सहमति जुटेपछि ताला खोलिएको हो ।
शिक्षक अर्यालको सरुवा रोक्नका लागि वडा अध्यक्ष महेताब आलम खाँले शिवराज नगरपालिकाको शिक्षा समितिको बैठकमा प्रस्ताव लैजाने र काज सरुवा फिर्ता गराउन पहल गर्ने सहमति भएको हो ।
विद्यालयका शिक्षक पुरुषोत्तम अर्यालको सरुवा विवादका कारण विद्यार्थीहरूले आन्दोलन गर्दै विद्यालयमा ताला लगाएका थिए ।
शिवराज नगरपालिकाको नगर शिक्षा समितिले गत वैशाखमा शिक्षक अर्यालको सरुवा गरेको थियो । तर, विद्यालय व्यवस्थापन समितिले रवाना पत्र नदिएकाले अर्याल सोही विद्यालयमा निरन्तर अध्यापन गराउँदै आएका थिए ।
शिक्षक अर्याल विद्यालय छोड्न लागेपछि विद्यार्थीहरू आन्दोलित भई विद्यालयमा दुई दिनसम्म ताला लगाएका थिए ।
कुनै पक्षले ताला खोल्न चासो नदेखाएपछि वडा नम्बर ६ का वडा अध्यक्ष महेताब आलम खाँले विद्यार्थीहरूसँग वार्ता गरी ताला खोल्न सहमति जुटाएका हुन ।
शिक्षक पुरुषोत्तम अर्यालले कोचिङ कक्षामा नियमित रूपमा अध्यापन गराउनुपर्ने सहमती भएको अध्यक्ष खाले बताउनु भयो ।
शिवराज नगरपालिकाको उदासीनताका कारण विद्यार्थीहरू आन्दोलित भएको थिए ।