विजयनगरको जिन्सी शाखामा करारको कब्जा, कमिसनको खेल
न्यूज सेन्टर नेपाल, कपिलवस्तु-
कपिलवस्तुको विजयनगर गाउँपालिकाको जिन्सी शाखामा करार सेवामा कार्यरत कर्मचारीको कब्जा देखिएको छ । स्थायी कर्मचारी हुँदाहुँदै कनिष्ठ र करार कर्मचारीलाई जिम्मेवारी दिइ व्यापक अनियमितता भएको खुलेको छ ।
जिन्सी शाखाको प्रमुख खरिदार बालबहादुर थापा भए पनि शाखाको दैनिक कामकाजमा सहायक कम्प्युटर अपरेटर रवि प्रताप यादवको चलखेल रहेको पाइन्छ ।
थापा कार्यालयमा नियमित रूपमा नबसी वडा नं १ को सचिवको जिम्मेवारीमा व्यस्त हुने भएकाले यादवको जिन्सी शाखामा कब्जा छ ।
स्रोतका अनुसार यादवले जिन्सी शाखामा सामान खरिद, फाइल तयार, दस्तावेज प्रक्रिया मिलाउने जस्ता काममा संलग्न रही प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, लेखा शाखा प्रमुख हिमकान्त आचार्य तथा खरिदार थापासँग मिलेर कमिसनको लेनदेन गर्दै आएका छन् ।
एक स्थायी कर्मचारीले नाम नखुलाउने सर्तमा भने, “गाउँपालिकाले किनेका हरेक सामग्री, साना ठूला ठेक्काको सेटिङ तथा खरिद प्रक्रिया मिलाउनका लागि कमिसन उठाउने काम यही समूहले गर्दै आएको छ ।”
सूचनाअनुसार, कमिसनको रकमबाट चन्द्रौटामा जग्गा खरिद गरिएको छ भने लेखा अधिकृत आचार्यले सोही पैसाबाट बुटवलमा समेत जग्गा किनेको दाबी गरिएको छ ।
सहायक कम्प्युटर अपरेटर यादव पालिकाको स्कर्पियो बा १ झ ७७१ चढेर रवाफ दिने गरेका छ्न । प्रमुख प्रशासकीय अधिकृत रिजाल चढ्ने सरकारी गाडी समेत प्रयोग गर्ने गरेका छन् ।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाको नजिकको मान्छे भएकोले आफ्नो कसैले केही बिगार्न नसक्ने भन्दै यादवले धम्की दिँदै हिँडेका छन् । आफूले पालिकाका कर्मचारी बनाइदिने भन्दै विभिन्न व्यक्तिलाई प्रलोभन दिने आरोपसमेत उनी माथि छ ।
बाल बहादुर थापा भने वडा नं १ को कार्यालयमै बस्छन् । रवि यादवले जिन्सी शाखासँग सम्बन्धित कागजपत्र बनाउने, थापाले त्यसमा हस्ताक्षर गर्ने, त्यसपछि लेखा शाखाबाट रकम निकासा हुने कमिसन लिने प्रणाली चल्दै आएको स्रोतले जनाएको छ ।
यसैबीच, केही महिनाअघि युवा संघ विजयनगरका अध्यक्षले तौलेश्वर खटिकले शंकरपुरमा सञ्चालन गरेको इलेक्ट्रोनिक पसलबाट सेटिङमा सामग्री खरिद गरी मोटो कमिसन लिइएको थियो ।
प्रत्येक वर्ष लाखौंको सामान खरिदमा सेटिङ मिलाउने गरिन्छ भन्ने आरोप लागेका छन् । त्यस कमिसन रकमको बाँडफाँड शिवराज–२ स्थित सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा गरिएको स्रोतको भनाइ छ ।
जिन्सी शाखा प्रमुख बालबहादुर थापाले भने आफूमाथि लगाइएका सबै आरोपहरू अस्वीकार गरेका छन् ।
“कर्मचारीको अभावले गर्दा वडा सचिव र जिन्सी शाखाको जिम्मेवारी एउटै व्यक्तिलाई दिनुपरेको हो । म कुनै कमिसन लिएको छैन । यो नियोजित षड्यन्त्र हो”, थापाले भने ।
लेखा अधिकृत हिमकान्त आचार्यले पनि आफू कुनै अनियमिततामा संलग्न नभएको बताए ।
“म कार्यालयको प्रक्रिया अनुसार फाइल हेरेर मात्रै रकम निकासा गर्छु । सामानको खरीदमा सेटिङ मिलाउने वा कमिसन लिने काममा म संलग्न छैन”, उनले स्पष्ट पारे ।
सहायक कम्प्युटर अपरेटर रवि प्रताप यादवले कार्यालयको निर्देशनअनुसार मात्र आफूले काम गर्ने गरेको बताए ।
“म बिहान कागज तयार गर्छु, दिउँसो थापा सर आउनुहुन्छ र हस्ताक्षर गर्नुहुन्छ । मैले कसैसँग कुनै कमिसन लिएको छैन ।
यादवले भने “मैले कार्यालयले दिएको जिम्मेवारी बाहेक केही पनि गरेको छैन ।”
प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल नम्बर ९८५७०१४८६९ अफ अवस्थामा रहेकोले प्रतिक्रिया लिन सकिएन ।