Connect with us
Kapilvast Forest

काठमाडौं महानगरमा प्रमुख बालेन शाह अन्तत एक्लिए

२०८२, २२ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं –

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह अन्तत: एक्लिएका छन्। महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल,प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र वडाअध्यक्षबीच उनी एक्लिएका हुन्।प्रमुख शाहलाई कमजोर बनाउन उनलाई साथ दिँदै आएका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई कारबाही गरिएको स्रोतले बतायो। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगरप्रहरी प्रमुख पाण्डेलाई हिजो(मंगलबार) ६ महिनाका लागि निलम्बन गरेका छन्।

त्यसो त अब बालेनलाई उनको सचिवालयबाहेक अरूको साथ पाउने अवस्था देखिँदैन। लामो समयदेखि प्रमुख शाह र उपप्रमुख डंगोलबीच ‘टकराव’ चलिरहेको छ। एमाले,कांग्रेस लगायत विभिन्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू बालेनविरूद्धमा छन्। उनीहरूले महानगरपालिकामा बालेनको मनपरी नचल्ने भन्दै बेला-बेला बालेनको आलोचना गरिरहेका छन्। यतिमात्रै होइन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बेला-बेला बालेनको आलोचना गर्दै आएका छन्।

प्रतिशोध साँध्दै गुरागाईंले पाण्डेलाई निकाले

पछिल्लो महानगरमा देखिएका यी सबै समस्याको मूल जड भने काठमाडौं भ्यूटावर विवाद हो। सरकारले प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत असोज ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका थिए।

तर उनलाई पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको आरोप लाग्यो। त्यसपछि महानगरपालिकाले उनीमाथि गत पुसमा छानबिन गर्न समिति गठन गर्‍यो। त्यसयता गुरागाईं निलम्बनमा परे।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा गुरागाईंलाई नै काम गर्ने वातावरण दिन आग्रह गरेको थियो तर बालेनले त्रूटिपूर्ण कार्य गरेको दाबीसहित ठाडै अस्वीकार गरे। सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा र बालेनले गुरागाईंलाई जिम्मेवारी नदिँदा करिब पाँच महिनासम्म तलब कर्मचारी शिक्षकहरूले पाएनन्।

त्यसपछि प्रमुख बालेनविरूद्ध उपप्रमुख डंगोल आक्रामक बन्दै गइन्। त्यतिमात्रै होइन चैत २१ गते वडाध्यक्ष र कर्मचारीहरूले ताला फोडेर उनै विवादित प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा छिराए।

उपप्रमुख डंगोलले गुरागाईंलाई स्वागत गरिन्। गुरागाईंलाई कार्यालयमा छिराएपछि सुनिताले आक्रोशित हुँदै भनिन्, ‘फेरि त्यो भिडन्त बनाउने कि नबनाउने?, भिडन्त नगर्ने भए व्यवस्थापन त गर्नुपर्‍यो। यसको व्यवस्थापनका लागि उपप्रमुखको हिसाबले निर्देशन दिइसकेँ, मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ, होइन भने कोठामा बसेर आदेश दिन मात्र पाइँदैन।’

उपप्रमुख सुनिता डंगोल यतिमा मात्रै रोकिइनन्। वैशाख ११ गते नेकपा एमालेले आयोजना गरेको युथ सेलिब्रेशनमा बालेन लक्षित ‘स्टन्ट गरेर देश बन्दैन’ भनिन्। उनले औँला उठाउँदै भनिन्,‘स्टन्ट गरेर देश बन्दैन,स्टन्ट गरेर देश बन्छ? देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, इमान्दारी चाहिन्छ।’

उक्त भाषणपछि सुनिता डंगोल यतिखेर पनि आलोचित भएकी छिन्। सामाजिक सञ्जालमा अहिले पनि उनका ती भाषणमाथि ‘ट्रोल’ बनाइरहेका छन्। त्यसपछि झनै हालसम्म पनि प्रमुख साह, उपप्रमुख सुनिता र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीच नै समझदारी र समन्वय छैन। पाँच महिनादेखि कार्यपालिका बैठक बस्न सकेकाे छैन।

गुरागाईं कार्यालय प्रवेश गर्दा नगर प्रहरी प्रमुख पाण्डेले आफूलाई अवरोध पुर्‍याएको भन्दै कार्यालय छिरेको एक महिनापछि (जेठ ६ गते) नगरप्रहरी प्रमुख राजुनाथलाई ७ बुँदे स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणपत्रमा प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सवारीसाधनमा किन ह्वील लक गरेको ?, नगर प्रहरीबल परिचालन गरेर गुरागाईंलाई कार्यालय छिर्न अवरोध गर्दै आतङ्क सृजना किन गरेको ? भनेर भनिएको थियो।

त्यस्तै स्पष्टीकरणपत्रमा पाण्डेले जनप्रतिनिधिको बाटो छेकेर अमर्यादित र अभद्र व्यवहार किन गरेको?, प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्ने हाजिर पुस्तिका कब्जामा किन लिएको ? लगायत विषयमा प्रश्न उठाइँदै स्पष्टीकरण सोधिएको थियो। पाण्डेले उक्त स्पष्टीकरणको जवाफ बुझाए।

गुरागाईंलाई छिराउन कार्यालय नै फोडेपछि नगरप्रहरी प्रमुख पाण्डेको टोलीले रोक्न खोजेको थियो। त्यसबेला पाण्डेले भनेका थिए, ‘कार्यालयको सुरक्षा गर्ने हाम्रो जिम्मेवारी हो, सुरक्षासम्बन्धी विषय भएमा कसैलाई पनि आउन दिँदैनौँ, जुनसुकै पदाधिकारी पनि रोक्छौँ, यो तामझाम गरेर ठिक भएन।’

काठमाडौं महानगरपालिका महानगर प्रहरी सेवालाई व्यवस्थापन गर्न बनेको महानगर प्रहरी ऐन, २०८० को दफा ‘७’ को ‘क’ मा पनि महानगरपालिकाको चल, अचल सम्पत्ति, भवन,जग्गा, पार्क, मेशिन, उपकरण आदिको सुरक्षा र संरक्षण गर्ने जिम्मेवारी नगर प्रहरीलाई दिइएको छ। उक्त ऐन अनुसार कार्यालयकाे सुरक्षा महानगर प्रहरीले गर्नुपर्छ।

पाण्डेले स्पष्टीकरणमा महानगरपालिका कार्यालय परिसरमा नियमितभन्दा बढी भीडभाड भई जनप्रतिनिधि कर्मचारीबाहेक अन्य व्यक्तिहरू समेत हुन सक्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी, कर्मचारी, जनप्रतिनिधि तथा कार्यालयको सुरक्षाको प्रबन्ध गर्न प्रमुखको आदेश अनुसार गरिएको जवाफ दिएका छन्।

तर,प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले उल्टै कार्यालय छिराउन नदिएकाे प्रतिशोध साँधेर उक्त घटना दिन घटेको अवाञ्छित एवं गैरकानुनी हुलहुज्जत र हातपातयुक्त घटना पाण्डेको प्रत्यक्ष संलग्नता र अगुवाइमा घटेको आरोप लगाउँदै निलम्बन गरेका हुन्।

किन उनलाई निलम्बन गरियाे भन्ने प्रश्नमा चित्तबुझ्दो जवाफ नआएपछि ६ महिनाका लागि पाण्डेलाई निलम्बन गरेको प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलेलाई जानकारी दिए। उनले  भने,‘उहाँको चित्तबुझ्दो जवाफ नआएपछि निलम्बन गरेको हुँ।’ हिजो नै उनैले महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले दिइसकेका छन्।

अवैध संरचना भत्काउन सधैँ पाण्डेको साथ

महानगर प्रमुख शाह स्वतन्त्र निर्वाचित जनप्रतिनिधि हुन्। उनका निर्देशन राजुनाथले मान्दै आएका थिए। शाह प्रमुखमा निर्वाचित भएपछि  महानगरभित्रको अवैध संरचनामा डोजर चलाए। त्यसमा राजुनाथले बालेनलाई साथ दिए। जसरकाण पनि बालेन पक्षकाले प्रमुख शाह र राजुनाथलाई समर्थन गर्दै तारिफ गर्दै आएका थिए।

यद्यपि फुटपाथका ठेला उठाएको विषयमा भने पाण्डेको आलोचना हुने गरेको थियो। हाल महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक जोशीले पाएकाले उनले बालेनलाई के कसरी साथ सहयोग गर्छन वा गर्दैनन् ? त्यो हेर्न भने बाँकी छ।

पाण्डेले भने-मेरो कामको मूल्यांकन तपाईँहरू नै गर्नूस्

नगरप्रहरी प्रमुख पाण्डेलाई गरिएको निलम्बन विषयमा प्रमुख शाहले हालसम्म मुख भने खोलेका छैनन्। नगरप्रहरी प्रमुख पाण्डेले निलम्बन पत्र बुझिसकेपछि आफ्नो कामको मूल्यांकन आफै गर्नु भनेका छन्।

उनले भने,‘महानगरमा जति रहेर काम गरे,राम्रै गरेजस्तो लाग्छ,मैले आफ्नो कर्तव्य पूरा गरेको छु, मैले जे गरेँ, सबैको सामु छर्लङ्ग नै छ,यसको मूल्याङ्कन मैले गर्ने कुरा भएन नी, मेरो मूल्यांकन तपाईंहरूले गर्नुहोला,मलाई निलम्बन गरि त हालियाे, अब यस विषयमा थप बाेलेर काम छैन।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu