काठमाडौं-
सांसदको नाराबाजीपछि हिजो स्थगित भएको प्रतिनिधिसभा बैठक आज पनि बोलाइएको छ। बैठक दिउँसो तीन बजे बस्नेगरी बालाइएको हो। तर, ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन माग गर्दै विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्।
जेठ १५ गते बजेट प्रस्तुत हुनुबाहेक १३ गतेयता संसदमा निरन्तर अवरोध कायम छ। पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भए पनि कुनै निष्कर्ष ननिस्किँदा बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीको राजीनामाको अडानसहित पाँच बुँदे प्रस्ताव राखेको छ। तर, त्यसमा सत्तारुढ दलहरुले छलफल समेत हुन नसक्ने बताइरहेका छन्। उनीहरुले तत्काल अीख्तयारको अनुस्न्धानमा सहयोग गर्ने र अनुसन्धान सकिएपछि भिजिट भिसामा देखिएका वेथितीबारे संसदीय छानबिन समिति बनाउने दुई बुँदे प्रस्ताव अघि सारेका छन्। यसमा सहमत नभए रास्वपालाई बाइपास गर्दै प्रमुख प्रतिपक्षीसँग सहमती गरेर संसद चलाउने योजनामा सत्तापक्ष देखिएको छ।
कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बैठकअघि छलफल गर्ने तयारी छ। मुस्ताङमा रहनुभएका प्रचण्ड आजै काठमाडौं आउँदैछन्। तर, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने आफूहरको विरोध यथावत् रहने र राजीनामाको मागबाट पछि नहट्ने बताए।
सुरुमा राजीनामाको अडानमै रहेको माओवादी कांग्रेससँगको निकटतापछि लचक बन्दा रास्वपालाई धोका दिएको आरोप लाग्न थालेको छ।
आज संसद चले बजेटमाथिको छलफल प्रारम्भ गर्ने तथा निजामति सवा विधेयक सम्बन्धि राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।