Connect with us
Kapilvast Forest

योजना बनेको ३१ वर्षपछि राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला सदरमुकाम

२०८२, २३ असार सोमबारमा प्रकाशित

काठमाडौ

सरकारी योजना बनेको ३१ वर्षपछि हुम्ला सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी एक मात्रै जिल्ला सदरमुकाम हुम्लाको सिमिकोटलाई कर्णाली करिडोरमार्फत सञ्जालमा जोडिएको हो ।

कर्णाली करिडोरको हुम्लाको खार्पुनाथमा अवस्थित चुवा खोलामा ५१.८० मिटर लामो बेलीब्रिजको निर्माण भएपछि हुम्ला सदरमुकाम राष्ट्रिय सञ्जालमा मात्रै होइन, सिंगो कर्णाली प्रदेश नै भारत र चीनसँग पनि जोडिएको छ । सदरमुकाम सिमिकोट यसअघि नै कर्णाली करिडोरमार्फत नै चिनियाँ नाका हिल्सासँग जोडिसकेको थियो । अहिले त्यसको तल्लो खण्डको ट्रयाक खुलेपछि कर्णाली प्रदेश भारतसँग पनि जोडिएको छ ।

६ सय ८२ किमि लामो कर्णाली करिडोर दक्षिणमा छिमेकी मुलुक भारतको सीमा रुपैडियादेखि सुरु भएर उत्तर छिमेकी मुलुक चीनको सीमाना हिल्सासम्म गएर टुंगिनेछ । यो करिडोरले त्रिदेशीय व्यापारीक मार्गका रूपमा विकास गरी मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्नेसमेत विश्वास गरिएको छ । कर्णाली करिडोर राष्ट्रिय गौरवको आयोजना हो ।

नेपाली सेनाले निर्माण गरेको उक्त चुवा खोला पुल आइतबार एक कार्यक्रमबिच प्रधानमन्त्री केपी ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संयुक्त रूपमा उद्घाटन गरेका छन् । योसँगै अब हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएको सडक विभागका प्रवक्ता इ. प्रभातकुमार झाले बताए । ‘सिमिकोट यसअघि नै सडक सञ्जालमार्फत चिनियाँ नाकासँग जोडिएको थियो । अहिले चुवा खोलामा पुल बनेसँगै कर्णाली करिडोरको तल्लो खण्ड पनि वारपार खुलेको छ । यसले हुम्ला सदरमुकाम सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडेको मात्रै छैन, सिंगो कर्णाली प्रदेशलाई भारत र चीनसँग पनि जोडेको छ,’ उनले भने, ‘रणनीतिक रूपमा यसको ठुलो महत्व छ ।’

हुम्ला जिल्ला भने मंसिर ०७७ मै राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । हुम्ला जिल्लाको तल्लो क्षेत्रका ताँजाकोट, अदानचुली, सर्केगाड गाउँपालिका मंसिर ०७७ मा राष्ट्रिय सडक सञ्जालमा जोडिएका थिए । यद्यपि, सदरमुकाम भने राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी थियो । अब त्यो लक्ष्य पनि पूरा भएको सडक विभागको भनाइ छ ।

कर्णाली करिडोरमार्फत सरकारले पहिलोपटक ०५१ सालमा हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना अघि बढाएको थियो । ०५६ मा कर्णाली करिडोर निर्माणका शिलान्यास गरिएको थियो । त्यसपछि आव ०६९/७० मा पनि सिमिकोटमा योजना कार्यालय स्थापना गरेर काम अघि बढाइएको थियो । पछि बाजुरामा समेत योजना कार्यालय स्थापना गरिएको थियो । उक्त दुई कार्यालयअन्तर्गत कर्णाली करिडोरका कालिकोटको खुलालुदेखि हुम्लाको हिल्सासम्म नयाँ सडक नै निर्माण गर्नुपर्ने थियो । त्यसमा अधिकांश खण्डको निर्माण नेपाली सेनाले गरेको थियो । नेपाली सेनाले नै ९ चैत ०७१ देखि नै काम सुरु गरेको थियो ।

पछिल्लोपटक भौगोलिक रूपमा जटिल रहेको घाटचौरदेखि भुक्का खोलासम्मको सडक खण्डको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको थियो । हुम्ला सदरमुकामलाई राष्ट्रिय सडक खण्डमा जोड्न यो खण्ड पार गर्नुपर्ने थियो । तर, त्यस खण्डमा कडा चट्टान हुँदा समय लागेको थियो । बममार्फत चट्टान फोरेर सडक ट्रयाक खुलेपछि र पुलसमेत निर्माण भएपछि सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन सफल भएको हो । यो क्षेत्र सिमिकोटदेखि ५५ किमि टाढा पर्छ ।

चीन र भारतको व्यापारिक मार्गका रूपमा विकास गरिने : प्रधानमन्त्री 
उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले यो सडकलाई चीन र भारतसँगको व्यापारिक मार्गका रूपमा विकास गरिने बताए । आगामी दिनमा सडकको कालोपत्रे गर्दै जाने उनको भनाइ छ । सडकलाई तत्काल दुई लेनमा विस्तार गर्ने उनको भनाइ छ । ‘यो करिडोर हुम्लावासीका लागि मात्रै फाइदाजक छैन, दुई छिमेकी देशसँगको व्यापाररिक मार्ग पनि भएकाले धेरै लाभ लिन सकिन्छ,’ उनले भने, ‘तसर्थ, यसलाई तत्काल दुई लेनमा विस्तार गरिनेछ । साथै कालोपत्र पनि गरिनेछ ।’

सेनाले गत वर्ष चैत १० गतेदेखि चुवाखोलामा बेलिब्रिज जडान गर्न सुरु गरेको थियो । असार १० गते नै उक्त पुलको निर्माण सकिएको थियो । त्यहाँ पक्की पुल पनि निर्माण गर्ने योजना छ । योजना बनेको ३१ वर्षपछि र निर्माण आरम्भ भएको २६ वर्षपछि हुम्ला सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो ।

करिडोरले हुम्ला र कर्णालीका जनतालाई सहज
कर्णाली करिडोरको उक्त खण्ड सञ्चालनमा आएसँगै हुम्जा जिल्ला र कर्णाली प्रदेशका जनतालाई अब सहज हुने विश्वास गरिएको छ । अहिले हुम्ला जिल्लाबाट बाहिरिने उपयुक्त माध्यम हवाईजहाज मात्रै थियो । पैदलमार्फत जिल्लाबाट बाहिरिन ५–६ दिनसम्म लाग्ने गरेको थियो । खाद्यान्न ढुवानीको समेत उचित माध्यम नहुदाँ त्यहाँ महँगी पनि बढी हुने गरेको थियो । अन्य जिल्लाको तुलनामा त्यहाँ अधिकांश वस्तुको मूल्य १० गुणासम्म बढी हुने गरेको थियो । त्यो अवस्थामा सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि त्यहाँका जनतालाई धेरै सहज हुने विभागका प्रवक्ता झा बताउँछन् । साथै, सिंगो कर्णाली प्रदेशलाई पनि सहज हुने उनले बताए । ‘पहिला त्यहाँ ढुवानी खर्च नै बढी लाग्थ्यो । तर, अब त्यो बाध्यता हट्यो । कर्णालीमा भारतबाट भन्दा चीनबाट सामान ल्याउँदा सस्तो पर्छ जस्तो लाग्छ । यातायातको सुविधा त भई नै हाल्यो,’ उनले भने, ‘यसरी यसले हुम्ला जिल्लावासी र कर्णाली प्रदेशका जनतालाई धेरै सहजता प्रदान गर्ने देखिन्छ ।’

सडक भने कच्ची, बाह्रै महिना नचल्ने 
यद्यपि, अहिले त्यहाँका सडकहरू भने कच्ची स्वरूपमा छन् । साथै, सडकलाई बाह्रै महिना सञ्चालन गर्न चुनौती रहेको सडक विभागका एक उच्च अधिकारीले बताए । अझै पनि खहरे खोलाहरूमा पुल निर्माण गर्न बाँकी छ । कतिपय पुलको ठेक्का लाग्न बाँकी छ । त्यो अवस्थामा सडकलाई बर्खाको समयमा सञ्चालन गर्न नसकिने स्रोतको भनाइ छ । पुल नबनेसम्म हिउँदमा मात्रै सडक सञ्चालन गरिने स्रोतले बतायो । ‘यसै पनि सडक कच्ची हो । साथै, विभिन्न खहरे खोलाहरूमा पुल बन्न बाँकी छ । बर्खाको समयमा यो सडक सञ्चालन गर्न चुनौती छ,’ स्रोतले भन्यो, ‘हिउँदमा मात्रै सडक सञ्चालन गर्न सकिन्छ । यद्यपि, त्यस्तो विकट ठाउँमा यत्तिको काम गर्न सकियो, यसलाई महत्वपूर्ण मान्नुपर्छ ।’

ग्राभेल गर्न ठेक्का आह्वान, कालोपत्रेका लागि पर्ख र हेरको अवस्था
विभागले कच्ची सडकको ग्राभेल गर्न ठेक्का आह्वान गरिसकेको छ । ११ मिटर चौडाइसम्म सडक ग्राभेल गर्ने गरी टेन्डर आह्वान भइसकेको विभागका प्रवक्ता झाले बताए । ठेकदार कम्पनी छनोट भएपछि ग्राभेलको काम अघि बढ्ने उनको भनाइ छ । यद्यपि, सडक कालोपत्रे गर्न तत्काल हतार नगरिने उनले बताए । ‘यसै पनि केही समय सडकलाई सेट (स्थिर) हुन दिनुपर्छ । त्यसपछि मात्रै कालोपत्रे गर्दा राम्रो हुने हो । त्यसमाथि त्यहाँ सवारीसाधनको चाप तत्काल बढ्ने देखिएको छैन । न्यून ट्राफिक हुने ठाउँमा कालोपत्रे गर्दा त्यति लाभ हुने देखिन्न । आगामी दिनमा त्यहाँ ट्राफिक चाप कस्तो हुन्छ, त्योअनुसार कालोपत्रेको योजना बन्छ,’ उनले भने, ‘कालोपत्रेका लागि अहिले नै योजना बनिसकेको छैन ।’

साभार नयापत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu