प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक
काठमाडौं –
काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएको महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंले जानकारी दिए ।कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बजगाईंले जानकारी दिए । उक्त बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे कार्यपालिका बैठक बोलाइएको हो ।
बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ ।मेयर बालेन र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं बिचको टकरावले कार्यपालिका बैठक बस्न नसक्दा कानुनले तोकिदिएको समयसीमा भित्र बजेट ल्याउन काठमाडौं महानगरपालिका असफल भएको छ । स्थानीय सरकार संचालन ऐन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धि ऐनमा स्थानीय तहले असार १० भित्र बजेट ल्याउनुपर्ने व्यवस्था छ ।
मेयर बालेन शाह प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसँग बैठक बस्न नमानेपछि महानगरले बजेट ल्याउन नसकेको हो ।तर मेयर शाहले आज बोलाएको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पनि सहभागी हुने भएका छन् । गुरागाईंले मेयरले बैठक बोलाएको जानकारी प्राप्त भएकाले आफू पनि सहभागी हुने बताए ।