Connect with us
Kapilvast Forest

लुम्बिनीका मुख्यमन्त्री आचार्यले सार्वजनिक गरे एकवर्षे उपलब्धि

२०८२, ९ श्रावण बिहीबारमा प्रकाशित

दाङ –

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरूको विवरण सार्वजनिक गरेका छन् । राप्ती उपत्यका देउखुरीमा बिहीबार एक कार्यक्रम आयोजना गरी मुख्यमन्त्री आचार्यले उपलब्धिहरूको विवरण सार्वजनिक गरेका हुन् ।‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको छ,’ मुख्यमन्त्रीले भने– ‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाइनेछ ।’उनका अनुसार चालू खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएको छ । कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन र अनुगमनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना गरिएको छ, जसबाट नीतिगत तथा कार्यान्वयन पक्षमा नियमित अनुगमन हुने व्यवस्था मिलाइएको छ ।

प्रदेश सभामुख तुलाराम घर्तीमगरले कानुन निर्माणमा लुम्बिनी प्रदेशले उल्लेखनीय सफलता हासिल गरेको बताए । ‘जनताले मूल्याङ्कन गर्न सक्ने गरी पारदर्शी ढंगले काम भएको छ । अब बाँकी रहेका सामाजिक न्यायसँग सम्बन्धित ऐनहरू यसै अधिवेशनमा पेस गरेर पारित गरिनेछ,’ सभामुख घर्तीमगरले भने, ‘जनताको भावना र पहिचानसँग जोडिएका सम्पदाहरूको संरक्षण, संवर्द्धन र कार्यान्वयनको दिशामा सरकार संवेदनशील भएर अगाडि बढ्नुपर्छ ।’

सरकार गठन भएको एक वर्षको अवधिमा प्रदेश सरकारले ७६ बुँदे उपलब्धि सार्वजनिक गरेको हो । संघीयताको संस्थागत अभ्यासमा लुम्बिनी प्रदेशले अग्रणी भूमिका खेलेको उनले बताए । सरकार जनताका लागि देखिने, भेटिने र सुनिने बनोस् भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको नीति तथा कार्यक्रमहरूले प्रदेशलाई संघीय अभ्यासको ‘मोडेल’ प्रदेशको रूपमा उभ्याउने प्रयास गरेको उनले बताए ।

प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरराज पौडेलले एक वर्षे उपलब्धिहरूको विवरण प्रस्तुत गरे । सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राना) ले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण मुख्यमन्त्री कार्यालयका सचिव कविन्द्र नेपालले गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री ड्यासबोर्ड, किसान एप र अभौतिक सांस्कृतिक सम्पदाको विमोचन गरिएको थियो । प्रदेश सरकारले मुख्यमन्त्री ड्यासबोर्ड स्थापना गरेको छ । मन्त्रालय र सरकारका विभिन्न निकाय तथा कार्यालयबाट सम्पादन हुने कामहरूको अनुगमन गर्न बनाइएको मुख्यमन्त्री ड्यासबोर्डको मुख्यमन्त्री आचार्यले उद्घाटन गरे ।

यस्तै, मुख्यमन्त्री आचार्य र उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले संयुक्त रूपमा अभौतिक सांस्कृतिक सम्पदाहरूको पुस्तिका विमोचन गरे । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उक्त पुस्तिका प्रकाशन गरेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि एपको समुद्घाटन गरे । मुख्यमन्त्री ड्यासबोर्ड र किसान एप प्रदेश सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान लुम्बिनीले तयार पारेको हो ।
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu