Connect with us
Kapilvast Forest

वडाअध्यक्ष गुप्ताद्वारा करोडभन्दा बढी रुपैयाँ कुम्ल्याउने खेलमा किर्ते सिफारिश

२०८२, २८ श्रावण मंगलवारमा प्रकाशित

जुवातास काण्डमा पटक–पटक मुछिँदै आएका कपिलवस्तु नगरपालिका–२ का वडाध्यक्ष फेरि अर्को विवादमा मुछिएका छन् । एमालेबाट निर्वाचित वडाध्यक्ष अशोक गुप्ताले बैंकमा रहेको यसअघि निधन भइसकेका एक व्यक्तिको एक करोडभन्दा बढी रुपैयाँ कुम्ल्याउने खेलमा किर्ते सिफारिश गरेको आरोप छ ।

कपिलवस्तु नगरपालिका–२, जमुवारटोल बस्ने हजारीलाल कान्दूको मृत्युपछि, राष्ट्रिय वाणिज्य बैंकमा रहेको रकम कुम्ल्याउन खोज्ने गिरोहसँग मिलेर वडाध्यक्ष गुप्ताले भारतीय नागरिकलाई कान्दूको छोरीका रूपमा सिफारिस गरेका हुन् ।

निःसन्तान हजारीलाल कान्दू र उनकी पत्नी चन्द्रावती कान्दूनीको छोरी भनेर, वडाध्यक्ष गुप्ताले भारतको सिद्धार्थनगर घर भएकी पुष्पा कान्दूलाई सिफारिस गरेको देखिन्छ । वडाले असार १२ गते राष्ट्रिय वाणिज्य बैंकलाई सम्बोधन गर्दै मृतक दम्पतीकी छोरी पुष्पा कान्दू भएको प्रमाणित गर्दै पत्र पठाएको थियो । तर वडाको सिफारिससँग पुष्पा कान्दू छोरी भएको प्रमाणित गर्ने कागजातको रुपमा कुनै प्रमाण पेश नगरिएको बताइन्छ । जन्मदर्ता वा शैक्षिक प्रमाणपत्र पेश नगरी कैफियतमा उनको भारतमा विवाह भएको व्यहोरा मात्रै उल्लेख गरिएको थियो ।

जमुवारटोलका कुनै समयका धनाढ्य व्यापारी हजारीलालको मृत्यु जेठ २६ गते भएको हो । उनकी पत्नी चन्द्रावती लामो समयदेखि मानसिक रोगको उपचारमा रहेको बताइन्छ । बैंकको एउटा बचत र ३ वटा मुद्धती खातामा गरेर एक करोड १६ लाखभन्दा बढी रकम रहेको बुझिएको छ । श्रीमान् बितेको र श्रीमती बिरामी भएपछि किर्ते वारिस खडा गरी रकम झिक्न स्थानीय गिरोहले सम्पूर्ण कागजात तयार पारेर बैंकमा बुझाइसकेको थियो ।

सो विवरणको अनुसन्धानका क्रममा कान्दूको घर पुगेका बैंक टोलीले वडाले छोरीका रूपमा सिफारिस गरेकी महिला वास्तविक छोरी नभएको र अरू कुनै वैधानिक वारिस नभेटिएको पाएपछि सशंकित भएको थियो । राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक विजय पाण्डे भन्छन्, ‘वडाले नक्कली छोरी बनाएर बैंकमा सिफारिश गरेको देख्दा छक्क परेँ ।’ त्यसपछि बैंक खाताको रकम ट्रान्सफर गर्ने प्रक्रिया तत्काल रोकिएको छ ।

सो विषयमा वडा नम्बर २ का अध्यक्ष गुप्ताले निवेदकले नै ‘मेरो छोरी हो’ भन्दै सिफारिस मागेकाले दिएको दाबी गरे । तर छोरीको नाता खुल्ने कुनै प्रमाण नभएको अवस्थामा किन सिफारिस गरिएको ? भन्ने प्रश्नमा उनी स्पष्ट हुन सकेनन् । नाता नखुलेमा वडाबाटै छानबिन गर्ने वा प्रहरी सर्जमिन गर्ने सम्भावना हुँदाहुँदै हतारमा सिफारिस दिनुले उनी पनि आर्थिक प्रलोभनमा परेको हुनसक्ने धेरैको अनुमान छ ।

सभार- जनआस्था डटकम