कांग्रेसको किचलोले बागमतीमा फुकेन मन्त्री नियुक्तिको गाँठो
हेटौंडा-
बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र मन्त्री नियुक्तिको विषयमा जारी किचलो अझै टुंगिएको छैन ।मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षको मन्त्री नियुक्तिमा देखिएको अन्तरसंघर्षको गाँठो फुक्न नसक्दा सरकारले पूर्णता पाएको छैन ।२० साउनमा मुख्यमन्त्री नियुक्त बानियाँले सोही दिन नेकपा एमालेका ६ जना र कांग्रेसका दुई जनालाई मन्त्री नियुक्त गरेका थिए । कांग्रेस–एमालेबीच भएको मन्त्रालय भागबण्डाअनुसार कांग्रेसबाट अझै पाँच मन्त्री नियुक्त हुन बाँकी छ ।
२० साउनमै निवर्तमान मुख्यमन्त्री लामाले मन्त्री नियुक्त गरेर पनि सपथ लिन नपाएका ३ जना सांसदलाई बानियाँले मन्त्री नबनाएको भन्दै लामा पक्ष असन्तुष्ट छ । धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरुङलाई बानियाँले पहिलो चरणमै मन्त्री बनाउनुपर्ने सहमति कांग्रेस सभापति शेरबहादुर देउवासमेतको बसाइमा भएको तर बानियाँले पालना नगरेको लामा पक्षको गुनासो छ ।
लामासहितका सांसदहरु पार्टी नेतृत्वलाई गुनासो राख्न २० साउनमै काठमाडौं पुगेका थिए । सभापति देउवासँग भेट गरेर लामा पक्षका सांसदहरु २७ साउन सोमबार मात्रै हेटौंडा आएका थिए । ३ जनालाई मन्त्री नबनाएसम्म मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने अडान लिएको बहादुर पक्ष साउन २७ गते प्रदेश सभा बैठक सुरु हुनासाथ प्रदेशसभा भवनमा प्रवेश गरेको थियो । उनीहरुले साउन २७ गते नै बानियाँलाई विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।
शीर्ष नेता भेट्न मुख्यमन्त्री बानियाँ काठमाडौंमा
बागमती प्रदेशको मन्त्रिपरिषद्लाई पूर्णता दिन तयारी थालेका मुख्यमन्त्री बानियाँ भने बुधबार नै काठमाडौं पुगेका छन् । मन्त्री नियुक्तिबारे नेताहरु छलफल गर्न बानियाँ बुधवार बेलुका नै काठमाडौं गएको उनी निकट सांसदले अनलाइनखबरलाई जानकारी दिए ।उनले आज बिहीवार पार्टी सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह लगायतका शीर्ष नेताहरुसँग भेटेर मन्त्री नियुक्तिमा कांग्रेसभित्र देखिएको विवाद समाधानको प्रयास गर्ने जनाइएको छ ।
‘मुख्यमन्त्रीज्यू बुधबार बेलुका नै काठमाडौं पुग्नु भएको छ । उहाँले आज पार्टी नेतृत्वसँग मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्नुहुनेछ,’ बानियाँ निकट एक सांसदले अनलाइनखबरसँग भने, ‘अनि उहाँ हेटौंडा फर्किएपछि नयाँ मन्त्रीहरुको नियुक्ति र सपथ टुंगिन्छ ।’ उनका अनुसार मुख्यमन्त्री बानियाँले शुक्रबार मन्त्रिपरिषद विस्तारको योजना बनाएका छन् ।बहादुर सिंह लामाले गत सोमबार प्रदेशसभा सचिवालयमा अनलाइनखबरसँग कुरा गर्दै सभापति देउवा, महामन्त्री र शेखर कोइरालालगायतका नेताहरुले ३ जनालाई मन्त्री बनाउने सहमति पालना हुने विश्वास दिलाएपछि आफूहरु हेटौंडा फर्किएको प्रतिक्रिया दिएका थिए । लामाले आफूले यसअघि नियुक्त गरेका तर सपथ ग्रहण गर्न नपाएका ३ जनालाई मन्त्री बनाउने सहमतिको आधारमा मुख्यमन्त्रीबाट राजीनामा दिएको अनलाइनखबरलाई बताएका थिए ।
लामा पक्षलाई मन्त्री नियुक्त नगर्न बानियाँलाई दबाब
मुख्यमन्त्री बानियाँलाई भने आफ्नै पक्षका सांसदले बहादुर पक्षका ३ जनालाई मन्त्री नियुक्त नगर्न दबाब दिएको छ । पूर्व युवा तथा खेलकुदमन्त्रीसमेत रहेका बानियाँ निकट सांसद मिनकृष्ण महर्जनले ३ जना मन्त्री नियुक्तिको विषय संसदीय दलका बहुमत सांसदलाई मान्य नहुने प्रतिक्रिया दिएका छन् ।यो कदमले बानियाँलाई समर्थन गर्ने २२ जना सांसदमाथि अन्याय हुने उनको भनाइ छ । ‘मुख्यमन्त्रीज्यूलाई समर्थन गर्ने २२ जना सांसदलाई मिलाउनु पर्दैन रु, बहादुर पक्षका ३ जनालाई मन्त्री बनाएर २२ जनालाई न्याय हुन्छ त रु यो हामीलाई मान्य हुँदैन,’ महर्जनले अनलाइनखबरसँग भने ।
बानियाँ कांग्रेस संसदीय दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकार ढालेर मुख्यमन्त्री बनेका हुन् । बानियाँकै नेतृत्वमा लामालाई संसदीय दलमा ९ साउनमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।१३ साउनमा अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदा लामा अल्पमतमा परेसँगै दल नेताको हैसियत गुमाएका थिए । १४ साउनमा रिक्त दलको नेता चयनका लागि भएको निर्वाचनमा बानियाँले २२ मत ल्याउँदै निर्वाचित भएका थिए । निर्वाचनमा लामाले १४ मत पाए भने १ मत बदर भएको थियो ।
दलको नेताबाट हटेसँगै पार्टी नेतृत्वको निर्देशनमा लामाले १८ साउन साँझ पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि १९ साउनमा दाबी पेश गर्न आह्वान गरेसँगै बानियाँले कांग्रेस र एमालेका ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । उनी २० साउनमा बागमतीको छैटौं मुख्यमन्त्री नियुक्त भएका थिए ।